विश्व कीर्तिमानी गीत ‘मायाको सागरमा’ को भिडियो सार्वजनिक

-कृष्ण भुसाल


विश्व कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको गीत मायाको सागरमा को लिरिकल भिडियो सार्वजनिक भएको छ । केही समय अघि गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको यो गीतको लिरिकल भिडियो डी.आर. म्युजिक एण्ड क्रिएशन नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

मायाको सागरमा बोलको यो गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अङ्ग्रेजी, रशियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई गरी १२ भाषामा रेकर्ड भएको छ भने केहीदिन अघि मात्र यो गीतले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको थियो । सन्तोष श्रेष्ठको सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको यो गीतको १२ भाषामा सागर अधिकारी ‘शरद’, डा. डी.आर. उपाध्याय र प्रकाश तिमिल्सिनाले स्वर दिएका छन् ।

डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक भएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र सपनाकी रानी जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् ।

डा. डी.आर. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । गीत लेखेर डा. डी.आर. उपाध्यायले बिभिन्न १५ वटा विश्व रेकर्ड राखेका छन् ।