-तुलसी गिरी ‘भावुक’
गीतकार सुमन श्रापितको शब्दरचना र बि. बि. अनुरागीको सङ्गीत तथा स्वरमा रूकुम हत्याकाण्ड बारेको गीतको लिरिकल भिडियो प्रकाशित भएको छ l ‘रुकुम घटनाको वास्तविक नालिबेली’ भनिएको यो गीत कर्खा भाकामा रहेको छ l गीतमा जाजरकोटका नवराज बि. क. र रुकुमकी सुष्मा मल्लबीच कसरी माया बसेको थियो भन्ने प्रसङ्गदेखि हत्याकाण्ड सम्मका घटनाक्रमलाई सिलसिलावद्ध रुपमा हृदय विदारक ढङ्गमा वयान गरिएको छ l
![](https://emusicdiary.com/wp-content/uploads/2020/06/final-3.jpg)
नवराज र सुष्माबीच प्रेम भईसकेपछि सुष्मा नवराजको घरमा रात बस्नेगरी समेत जाने गरेको, जातीय कारणले समस्या होला कि भनेर जिज्ञासा राख्दा सुष्माले आफ्नो परिवार प्रगतिशील बिचारको भएकोले केही फरक नपर्ने भन्ने गरेको, सुष्माका माइतीले त्यो कुरा थाहा पाएपछि प्रेमलाई स्वीकार नगरेको र नवराजमाथि भौतिक आक्रमणको सिलसिला सुरु भएको, माइतीले सुष्मा र नवराजलाई छुटाउन चाहेको तर सुष्मा दुई जिउकी भएकोले मलाई लिन घरमै आउनु भनि नवराजलाई फोन गरेर बोलाएको, नवराज केही साथीभाइ लिएर सुष्माको गाउँमा पुगेको तर सुष्मालाई भगाउने वातावरण नदेखेपछि फर्कन लाग्दा घरेलु हतियार सहित स्थानीय जनप्रतिनिधि सहितको संलग्नतामा मल्ल गाउँ नै उल्टिएर बाटो छेकीछेकी र लखेटी लखेटी नवराज सहित ६ जनाको हत्या गरेको कुरा गीतमा उल्लेख छ l
![](https://emusicdiary.com/wp-content/uploads/2020/06/final-2.jpg)
‘हत्यारा समाजलाई कडा कारबाही हुनुपर्छ l कुनैपनि शर्तमा हत्याराहरुले उन्मुक्ति पाउनु हुँदैन’ गीतमा भनिएको छ l गीतमा जातीय विभेद अन्त्य गरी असल समाज स्थापनाको लागि पनि आग्रह गरिएको छ l
अमानवीय ढङ्गले क्रुरतापूर्वक गरिएको यो हत्याकाण्डको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको भएपनि बाँच्न सफल भएका नवराजका साथी, हालसम्म देखिएका तथ्य र पीडित पक्ष एवं प्रत्यक्षदर्शीहरुले बिभिन्न मिडियामा व्यक्त गरेका कुराहरुको आधारमा यो गीत लेखिएको गीतकार श्रापितले बताएका छन् l
![](https://emusicdiary.com/wp-content/uploads/2022/03/kumar-rana-maruni-digital.jpg)