कोरोना विरुद्धमा चेतना जगाउँदै र साहस छर्दै सर्जकहरु

तुलसी गिरी ‘भावुक’


कोरोना भाइरसले पूरै विश्वलाई नै आतङ्कित बनाईरहेको वर्तमान परिस्थितिमा कतिपय व्यक्तिहरु मजाक गर्नमै आनन्द मानिरहेका छन् भने कसैलाई यो विपतको घडी कमाउने अवसर भएको छ l केही सर्जक कलाकारहरुले भने लकडाउनको सदुपयोग गर्दै यस सम्बन्धी चेतना एवं सन्देशमूलक गीत सार्वजनिक गरेका छन् l

अग्रज गीतकार कालीप्रसाद रिजालको शब्दरचना, सन्तोष श्रेष्ठको सङ्गीत तथा विश्व नेपालीको स्वरमा कोरोना सम्बन्धी गीत ‘मान्छेलाई देख्ता नि मान्छेले नै तर्सिनुपर्ने के होला ?’ को भिडियो सार्वजनिक भएको छ l गीतमा यस भाइरसको प्रकोपबाट उत्पन्न विषम परिस्थिति र अन्योलग्रस्त विश्वको अवस्थाबारे बयान गरिएको छ l Kamana Digital नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतमा देवेन्द्र नेवा:को सङ्गीत संयोजन र महेश्वरमान राजभण्डारीको ध्वनि मुद्रन तथा मिश्रण  रहेको छ भने भिडियो वीरेन्द्र भाट ‘विपिन’ को सम्पादनमा निर्माण भएको हो l

यसैगरी अर्का कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायले कोरोना विशेष चेतनामूलक गीत ‘ओ कोरोना विन्ती छ यो धर्तीबाट विदा लेऊ’ को भिडियो प्रकाशन गरेका छन् l राज सागरको सङ्गीत तथा स्वर रहेको यस गीतमा राहुल विश्वकर्माको सङ्गीत संयोजन रहेको छ भने मिक्सिङ / माष्टरिङ दीप घतानीले गरेका हुन् l चेतनामूलक भाव रहेको यस गीतमा कोरोनाको प्रकृति, प्रवृत्ति र यसको विश्वव्यापी नकारात्मक प्रभावको बारेमा प्रकाश पारिएको छ l गीतकारले कोरोनालाई जतिसक्दो छिटो संसारबाट विदा लिन आग्रह गरेका छन् l भिडियो DR Music & Creations नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

अर्का गीतकार डा. नवि अधिकारी ‘टकिन्द्र’ ले पनि कोरोना सम्बन्धी जागरण गीत ‘परीक्षा छ’ को भिडियो सार्वजनिक गरेका छन् l सन्तोष श्रेष्ठको सङ्गीत तथा राज सिग्देलको स्वर रहेको यस गीतको सङ्गीत संयोजन देवेन्द्र नेवा:ले र ध्वनि मुद्रण तथा मिश्रण महेश्वरमान राजभण्डारीले गरेका हुन् l वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादनमा निर्माण भएको यस गीतको भिडियो गोल्डेन क्रिएशन नामक युट्युब मार्फत बजारमा आएको छ l गीतमा कोरोनाले गर्दा विश्वमै उत्पन्न विषम परिस्थिति र त्यसलाई परास्त गर्नका लागि उत्प्रेरणा जगाउने उर्जाशील भाव व्यक्त भएका छन् l गीतकारले यो कठिन घडीमा एकजुट भएर अदृश्य शत्रुमाथि विजय प्राप्त गर्नका लागि विश्व भ्रातृत्वको समेत चाहना व्यक्त गरेका छन् l

लोकप्रिय सर्जक / कलाकार बी. बी. अनुरागीले पनि कोरोना सम्बन्धी चेतनामूलक गीत ‘आमा बाबा’ को भिडियो आफ्नै युट्युब च्यानल BB Anuragee मार्फत सार्वजनिक गरेका छन् l अनुरागीकै शब्द, सङ्गीत, स्वर र  म्युजिक एरेन्ज रहेको यस गीतको भिडियोको सम्पादन समेत अनुरागी स्वयमले नै गरेका हुन् l ताराकान्त बिक एवं हरिको छायाङ्कन र श्यामश्वेत रसाईलीको ध्वनि मिश्रण रहेको यस गीतको भिडियोमा सर्जक / कलाकार बीबीका साथमा आमा पवित्रा रसाईली, पुतली रसाईली, बाल कलाकार सर्जक रसाईली आदिलाई देख्न सकिन्छ l गीतमा हार्मोनीमा सुकुराम र गीतारमा सुवासले साथ दिएका छन् l गीत तथा भिडियोको बारेमा अनुरागी भन्छन् –’लकडाउनको फुर्सदलाई थोरै उपयोग गरी केही जनचेतना पनि होस् भन्ने हेतुले घरभित्रै बसेर शव्द / सङ्गीत सृजना गर्दै घरमै रहेको कम्प्युटरमा एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ कार्य सम्पन्न गरी परिवार माझमा शुटिङ गरेर भिडियो तयार पारिएको हो ।’ कोरोनाबाट आफू बाँच्न र अरुलाई पनि के बचाउन के के गर्न हुन्छ र के के गर्न हुन्न भन्ने समग्र सन्देश बोकेको यस भिडियोलाई सचेतनाको एउटा बुलेटिन नै भन्दा पनि फरक पर्दैन l

युवा गीतकार प्रकाश सुवेदीले पनि कोरोना विशेष सन्देशमूलक गीत ‘मेरो विश्व मेरो घर’ बजारमा ल्याएका छन् l साहस शाक्यको सङ्गीत, सङ्गीत संयोजन तथा स्वर रहेको यस गीतको भिडियो वीरेन्द्र भाट ‘विपिन’ को सम्पादनमा निर्माण भएको हो l आफ्नो गाउँ, शहर या देश मात्र नभनी यो सङ्कटको घडीमा विश्वलाई नै आफ्नो घर सम्झेर कोरोना विरुद्धमा लड्नको लागि गीतमा आह्वान गरिएको छ l ‘कोरोना’ विश्वकै साझा समस्या भएकोले विश्व बन्धुत्वको भावना जागृत गराउने उद्देश्यले यो गीत रचना गरिएको कुरा गीतकार सुवेदीले जानकारी गराएका छन् l भिडियो Bodhi Dhyan नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l