बहुआयामिक सर्जक – कलाकार हस्त लिबाङ । एकैपटक दुई विधामा अवार्ड

तुलसी गिरी ‘भावुक’


लामो समयदेखि सङ्गीत तथा चलचित्र क्षेत्रमा निरन्तर क्रियाशील रहेका बहुआयामिक सर्जक तथा कलाकार हस्त लिबाङ हालै सम्पन्न तेस्रो ‘एफ एल एफ अवार्ड २०७६’ मा गीतकार र सङ्गीतकारको दुई विधामा अवार्ड जित्न सफल भएका छन् । लिम्बू भाषा र संस्कृतिको बिकाश र विस्तारको उद्देश्यका साथ फाल्गुनन्द लिङदेन फिल्म्स् प्रा.लि.ले विगत तीनबर्ष अघिदेखि यो अवार्डको आयोजना गर्दै आईरहेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो अवार्ड समारोहमा चलचित्र निर्देशक, नायक, नायिका, गायक, गायिका, गीतकार, सङ्गीतकार लगायत बिभिन्न २५ विधाका सर्वोत्कृष्ट सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड वितरण गरिएको थियो । 

नेपाली लगायत विशेषगरी आफ्नो मातृभाषा एवं कला र संस्कृतिको विकाशका लागि निरन्तर लागिरहेका हस्त लिबाङ कला जगतमा गीतकार, सङ्गीतकार, गायक, चलचित्र निर्माता र अभिनेताका रुपमा चिनिन्छन् भने समाजसेवी र राजनीतिकर्मीका रुपमा पनि उनको छवि निक्कै उच्च रहेको छ ।  युवा उमेरदेखि नै सामाजिक रुपान्तरणको सपना बोकेर हिंडेका लिबाङ स्वच्छ छवि र स्पष्टवक्ता भएकै कारण पनि समाजमा एक असल व्यक्तिका रुपमा परिचित छन् । अरु कमाउनका लागि राजनीति गर्छन् l तर आम मान्छेभन्दा भिन्न सोच भएका र फरक चिन्तन बोकेर हिँड्ने हठी स्वभावका उनी अन्य क्षेत्रबाट कमाएको पैसा खर्च गरेर राजनीति गर्छन् । 

नेपाली र लिम्बूभाषा समेत गरी लगभग ९ दर्जनजति गीत लेखन तथा सङ्गीत साथै करिव २ दर्जन म्युजिक भिडियो निर्माण गरिसकेका हस्तले ५ दर्जनजति गीतमा स्वर समेत दिएका छन् ।  उनले नेपाली भाषाका ‘खुर्पा’, ‘रेस’ र ‘अदालत’ गरी ३ वटा कथानक चलचित्र निर्माण गरेका छन् भने लिम्बू भाषामा ‘साम’ र ‘माङ्घा लाजे’ बनाएका छन् । ‘लिबाङ फिल्म्स’ का प्रवन्ध निर्देशक समेत रहेका हस्त लिबाङलाई विगतमा बिभिन्न सङ्घ संस्थाहरुले सम्मान तथा अभिनन्दन गरेका छन् l चलचित्र बिकाश बोर्ड अन्तर्गत आदिवासी मातृभूमि चलचित्र प्रवर्धन वोर्ड सदस्य, नेपाली चलचित्रकर्मी सङ्घ केन्द्रीय सदस्य, लिम्बूवान राष्ट्रीय मोर्चा केन्द्रीय सदस्य, केराबारी गाउँपालिका नेकपा सचिवालय सदस्य साथै साहित्य, कला तथा साँस्कृतिक विभाग प्रमुखका रुपमा समेत क्रियाशील हस्त लिबाङलाई लिम्बू समुदायका एक धरोहरको रुपमा समेत चिन्ने गरिएको छ ।