राष्ट्रिय भावको गीत ‘नेपाललाई माया गरौं’ को भिडियो सार्वजनिक

शोभा के.सी. को शब्दरचना, सम्राट थापाको सङ्गीत तथा आनन्द कार्की र बिमला राईको स्वरमा रहेको राष्ट्रिय भावको गीत ‘नेपाललाई माया गरौं’ को भिडियो सार्वजनिक भएको छ । अग्रज साहित्यकार भद्रा कुमारी घलेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गीतकार सङ्घ नेपालका अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खडका, निर्देशक तथा कलाकार लय सङ्ग्रौला, मिलाप मासिकका सम्पादक कृष्ण भुसाल लगायतले गीत तथा भिडियो सार्वजनिक गरेका थिए । अग्रज सिनेकर्मी मन्दिल श्रेष्ठको निर्देशनमा निर्मित सो भिडियोमा श्याम रायमाझी र जयराम थापाको छायाङ्कन रहेको छ । भिडियोमा बालबालिका एवं कनिष्ठदेखि वरिष्ठसम्मका दर्जन बढी कलाकारहरुले अभिनय गरेका छन् ।

समारोहमा अतिथिहरुले आफ्ना विचार राख्दै राजनीतिले अलग गर्न खोजे पनि यस्ता राष्ट्रिय गीतले सबै नेपालीहरुलाई जोड्ने काम गरेको बताएका थिए । सो अवसरमा स्रष्टा शोभा केसी, साहित्यकार राधेश्याम लेकाली र गायक सीताराम पोखरेललाई मिलाप मासिकमा प्रकाशित उनीहरुको कभर फोटो आकर्षक फ्रेमिङ सहित हस्तान्तरण गरिएको थियो ।

मिलाप क्रिएशनको आयोजनामा चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारीले सहजीकरण गरेको सो कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, वरिष्ठ कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, अनेसास नेपाल च्याप्टर उपाध्यक्ष गीता मैनाली, गायक आनन्द कार्की, सीताराम पोखरेल, गायिका विमला राई, कलाकार उत्तम केसी, सङ्गीतकार सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, नरहरि प्रेमी, हेम प्रभास, सरोज प्याकुरेल, राम सिटौला, गायिका देविका वन्दना, विमला राई, लगायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । समारोहमा गीतकार शोभाको जन्मदिन समेत मनाईएको थियो ।