डा. गिरी र डा. बस्ताकोटीको संयुक्त रचनामा ‘मलाई परदेशी नभन’

तुलसी गिरी ‘भावुक’


ख्यातिप्राप्त गायक स्वरूपराज आचार्यको स्वरमा रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘मलाई परदेशी नभन’ को भिडियो music diary Nepal नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको संयुक्त शव्दरचनामा सुवास भुसालले सङ्गीत गरेको यस गीतको सङ्गीत संयोजन पुरूषोत्तम सुवेदीले गरेका हुन् । गीतको रेकर्डिङ काठमाण्डौस्थित ‘अकस्टिक नेपाल स्टुडियो’ मा गरिएको हो ।

देश विदेशबाट मायाप्रेमका गीतहरू त दिनदिनैजसो आइरहेका छन् l तर प्रवासी मनलाई समेट्ने गरी राष्ट्रिय भावका गीतहरू अलि कम नै बन्ने गरेको सन्दर्भमा प्रवासका भोगाई र अनुभूतिहरूले गर्दा नै आफूलाई यो गीत लेख्ने प्रेरणा मिलेको कुरा बताउँछन् गीतकार चन्द्र गिरी। अर्का गीतकार बस्ताकोटीका अनुसार बिभिन्न परिवन्धले गर्दा आफू जन्मेको भूगोलभन्दा पर रहेपनि छातीभरि देशको माया बोकी हिँड्ने लाखौँ प्रवासीहरुको मनको छट्पटी यो गीतमा व्यक्त गर्ने प्रयास गरिएको छ । यो गीत एकदमै फरक शैलीको भएको र बिदेशमा बस्ने नेपालीहरुको साझा भावना भएको कुरा समेत गीतकार बस्ताकोटीले बताएका छन् l गीतकार गिरी र बस्ताकोटीको संयुक्त रचनाको यो दोस्रो गीत हो । संयुक्त रचनाको पहिलो गीत ‘तिमी सुन न’ खेम विश्वकर्माको सङ्गीत र मेलिना राईको स्वरमा केही महिना अघि नै सार्वजनिक भईसकेको छ l

खोटाङ जिल्लाको चिमचिमामा जन्मिएका डा. चन्द्र गिरी पनि हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइनामा नै बसोबास गर्छन् l एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाईलेन्डबाट रिमोट सेंसिंगमा विध्यावारिधि गरेका गिरी हाल अमेरिकाको बातावरण मन्त्रालयको अनुसन्धान बिभागमा वरिष्ठ सल्लाहकारको रुपमा काम गरिरहेका छन् l हालैमात्र आफ्नो एकल शब्दरचना तथा अर्जुन पोखरेल, दीपक शर्मा र शंकर थापा ‘स्माइल’ को सङ्गीतमा अन्य ४ वटा गीत समेत रेकर्ड भईसकेको र निकट भविष्यमा एल्बम निकाल्ने योजना रहेको कुरा समेत डा. गिरीले जानकारी गराएका छन् l  

यसैगरी मूल घर गोरखाको आँप पिपल भएका डा. ऋषि बस्ताकोटी हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइनामा बसोबास गर्छन् । क्यानडा सरकारले प्रदान गर्ने अत्यन्तै प्रतिष्ठित भ्यानियर क्यानडा फेलोसिपका साथ क्यालगेरी युनिभर्सिटीबाट वातावरणीय नीति विषयमा विद्यावारिधि गरेका बस्ताकोटी हाल नर्थ क्यारोलाइना सरकारको डिपार्टमेन्ट अफ इन्भाइरोमेन्टमा वरिष्ट वातावरण विज्ञको रुपमा काम गर्छन् ।

भिडियो लिङ्क: