फागुन २९ लाई ‘लोकदोहोरी दिवस’ को रुपमा समेत मनाउने घोषणा

प्रकाश बराईली ‘अभिव्यक्ति’


लोक तथा दोहोरी सर्जक / कलाकारहरुको छाता सङ्गठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रीय कार्य समितिले फागुन २९ अर्थात् संस्था स्थापना दिवसको अवसरमा बार्षिकोत्सव कार्यक्रमसंगै सो दिनलाई ‘लोकदोहोरी दिवस’ को रुपमा समेत मनाएको छ । हाल यस संस्थाको नेपाल र बिदेशमा थुप्रै शाखाहरु स्थापना भैसकेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकै नवनिर्मित भवन वरिपरि रहेका फोहोरलाई ब्यवस्थापन गर्दै सरसफाई अभियानबाट कार्यक्रमको सुरुआत गरिएको थियो । संस्थाका केन्द्रीय अध्यक्ष रमेश बिजिको अध्यक्षता तथा महासचिव सुवास केसीद्वारा सञ्चालित सो कार्यक्रममा पूर्व अध्यक्ष चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्रि पंगेनी, समाजसेबी पृथ्वी थकाली, पशुपति शर्मा, खुमन अधिकारी, रमेशराज भट्टराई, शिब हमाल, कृष्ण रेउले, दिपक खड्का, पिएन सापकोटा लगायत धेरै कलाकारहरुको उपस्थिति रहेको थियो ।

आगामी बर्षहरुमा स्थापना दिवसको अवसर पारेर ‘लोकदोहोरी दिवस’ मनाउने निर्णय भएको जनाउँदै यस अभियानमा सबैले साथ दिने कुरामा आफू बिश्वस्त रहेको केन्द्रीय अध्यक्ष रमेश बिजीले बताए । साथै यसदिन सार्वजनिक बिदाको लागि छिट्टै सरकार समक्ष प्रस्ताव राखिने कुरा समेत अध्यक्ष बिजीले जानकारी गराए । कोरोना भाईरसका कारण यस पटकको रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता केही समयका लागि पछि सरेको कुरा समेत जानकारी गराउँदै आगामी दिनमा बृहत् रुपमा कार्यक्रम आयोजना गर्ने बिजीले बताएका छन् । लोकदोहोरी दिवस मनाउने कुरा अचानक निर्णय भएको हुँदा धेरैलाई खवर गर्न नपाएको भन्दै अध्यक्ष बिजीले क्षमा याचना समेत गरेका छन् ।