गीतकार डा. डी.आर. को अर्को कीर्तिमान, एउटै गीत १२ भाषामा

कीर्तिमानी गीतकार डा. डी.आर. उपाध्यायको नयाँ एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको छ । मङ्गलबार राजधानीको चावहिलमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ सङ्गीतकार शिला बहादुर मोक्तानको प्रमुख आतिथ्यमा सो एल्बम लोकार्पण गरिएको हो । एल्बममा एउटै गीत १२ भाषामा रहेको छ । लोकार्पण कार्यक्रममा विश्वभाषा क्याम्पस अङ्ग्रेजी विभाग प्रमुख सुशील भट्टराई, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, एरेञ्जर देवेन्द्र नेवाः, युथ क्रिएशनका अध्यक्ष रमेश थापा, पुष्कर नेपाल, सञ्चारकर्मी देवेन्द्र बोहरा लगायतकाको उपस्थिति रहेको थियो ।

लोकार्पित एल्बममा एउटै गीत नेपाली, हिन्दी, चाइनिज, जापनिज, अङ्ग्रेजी, रशियन, कोरियन, फ्रेञ्च, स्पेनिश, इटलियन, जर्मनी र थाई गरी १२ भाषामा रहेको छ । नेपाली भाषामा सागर अधिकारी ‘शरद’, हिन्दीमा डा. डी.आर. उपाध्याय र अन्य भाषामा प्रकाश तिमिल्सिनाले स्वर दिएका छन् । सबै गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने एरेञ्ज देवेन्द्र नेवाःले गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि शिला बहादुर मोक्तानले सधैँ नयाँ नयाँ र फरक काम गर्न रुचाउँने डा. डी.आर. उपाध्यायको यो ‘मायाको सागर’ एल्बम पनि विशेष रहेको बताउँदै उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै अन्य अतिथिहरुले पनि उपाध्यायलाई यस नयाँ कामका लागि बधाई तथा शुभकामना दिएका थिए । सो समारोहमा गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो ।

गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. डी.आर. उपाध्यायले वर्ल्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, लण्डन लगायत बिभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड र एभरेष्ट वर्ल्ड रेकर्ड लगायतका वर्ल्ड रेकर्डका प्रमाणपत्रहरु  प्राप्त गरिसकेका छन् ।

उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको अपूर्व कामको मूल्याङ्कन गर्दै बिभिन्न मुलुकका संस्थाहरुले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’ बाट समेत सम्मानित गीतकार डा. डी.आर. उपाध्यायद्वारा रचित गीतलाई गीतकार सङ्घ नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर आयोजना भएका बिभिन्न गीत-सङ्गीतका अवार्ड समारोहमा पनि उनका गीत अवार्ड चुम्न सफल भएका छन् ।