जुगल डंगोलको एकल सङ्गीतमा ‘सिरपा’ सार्वजनिक

जुगल डंगोलको एकल सङ्गीत रहेको नेपाल भाषाको गीतसङ्ग्रह ‘सिरपा’ ललितपुरको पाटन दरबार क्षेत्र नासः चोकमा एक समारोहबीच सार्वजनिक गरिएको छ । अग्रज गायक जुजुकाजी रंजित, अमरराज शर्मा, नरेशवीर शाक्य, ललितपुर महानगरपालिका–१६ का अध्यक्ष निर्मलरत्न शाक्य, सङ्गीतकार जुगल डंगोल, गीति सङ्ग्रहको उत्पादक कम्पनी आर्टोम्युज रेकर्डिङ स्टुडियोकी प्रवन्ध निर्देशक केन्जुमा सुब्बा, गोल्मा कम्पनीका प्रमुख सुरेश मल्ल, हिरण्यवर्ण महाविहारका आःजु चित्रवीर बज्राचार्य, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पूर्व अध्यक्ष सुरेश प्रधान लगायतले सो गीतिसङ्ग्रहको विमोचन गरेका हुन् । ‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धी गायकले गाएका पाँचवटा गीत यो सङ्ग्रहमा रहेका छन् । गीतिसङ्ग्रह आर्टोम्यूज रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो ।

यसअघि सुरजवीर बज्राचार्यको शब्द र स्वरमा जुगल डंगोलले सङ्गीत संयोजन गरेको जन्मदिनको शुभकामना गीत ‘बुदिंया भिंतुना’ को कभर प्रतिस्पर्धा गराईएको थियो । पेजथ्री बाःछिपौ (पाक्षिक) को आयोजनामा भएको सो प्रतियोगितामा एक सय २१ प्रतिस्पर्धीले भाग लिएका थिए । तीमध्ये उत्कृष्ट पाँच कलाकारको स्वरमा नयाँ गीत रेकर्ड गरेर यो गीतिसङ्ग्रह निकालिएको कुरा सङ्गीतकार जुगल डंगोलले जानकारी गराएका छन् ।

‘सिरपा’ गीति सङ्ग्रहमा सुरजवीरकै शब्दमा सर्वोत्कृष्ट गायक उत्तम महर्जनको ‘मफुत म्वाय् थ्व जीवन’, दर्शनवीर शाक्यको शब्द र मुकेश शाक्यको स्वरमा ‘छंगु हे खँ ला खः’ प्रकाश दीप श्रेष्ठको शब्द र सुमन मानन्धरको स्वरमा ‘भुतुमाली ब्वःथें’, पूर्णकाजी ज्यापुको शब्द र रविन्सन कसाःको स्वरमा ‘बांलाबांलाचिंगु मिखा’ हरिराम महर्जन ठेचोको शब्द र परमेश मल्लको स्वरमा सिरिसिरि वसन्तया फसय्’ बोलका गीत रहेका छन् ।

विमोचन समारोहमा बोल्दै ललितपुर महानगरपालिका – १६ वडाका अध्यक्ष एवं गीतकार निर्मलरत्न शाक्यले उत्कृष्ट ५ गायकलाई समेटेर एउटा गीतिसङ्ग्रह आफूले पनि तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समारोहमा कभर गीतका उत्कृष्ट गायकले ‘सिरपा’ मा सङ्ग्रहित गीत प्रत्यक्ष प्रस्तुत गरेका थिए  ।