रामकृष्ण ढकालको स्वरमा राष्ट्रिय भावको गीत ‘ए झण्डा’

व्यावसायिक हिसाबले खासै महत्व नराख्ने राष्ट्रिय भावका गीतहरू अत्यन्तै थोरै सार्वजनिक हुने गरेका छन् । तथापि नाफामुखी उद्देश्य रहित फरक सोच र चिन्तनका केही सर्जक / कलाकारहरुका कारण आफ्नो देश, आफ्नो पहिचान, आफ्नो भाषा – भेषभूषा र रीति – संस्कृति सम्बन्धी गीत फाट्टफुट्ट रिलिज भईरहेका छन् । यसै परिप्रेक्ष्यमा रमेश दहालको शब्दरचना, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत तथा प्रसिद्ध गायक रामकृष्ण ढकालको स्वरमा रहेको राष्ट्रिय भावको गीत ‘ए झण्डा’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । भिडियो गोल्डेन क्रियशन नामक युट्युब च्यानलबाट २ दिन अघि मात्र बजारमा आएको हो ।

रमेश दाहाल लामो समयदेखि निरन्तर गीत लेखनमा लागिरहेका सर्जक हुन् भने एकपछि अर्को उत्कृष्ट सङ्गीत सिर्जना गर्दै आएका सङ्गीतकार सन्तोष श्रेष्ठका थुप्रै गीत स्रोतामाझ लोकप्रिय छन् । यसैगरी रामकृष्ण ढकाल आधुनिक गायनमा विशिष्ट मानिन्छन् । गीतमा बिभिन्न देशका सयौँ झण्डाहरुबीच नेपाली राष्ट्रिय झण्डाको गरिमा सधैँ उच्च रहेको छ । यो झण्डाले नेपालको सम्पूर्ण भूगोल र त्यसभित्रका जनतालाई समेटेर राखोस् अनि मेची र काली, हिमाल, पहाड र तराई सबैतिरका जातजातिबीच समानता कायम गर्न सकोस् भन्ने भाव व्यक्त गरिएको छ । मनोहर सुनामको सङ्गीत संयोजन र भोला पौडेलको ध्वनि सम्पादन रहेको यस गीतको लिरिकल भिडियो ‘वर्ल्ड कभर भिडिया’ को सम्पादनमा तयार भएको हो ।