सुरेन्द्र र योजनाको ‘आऊ न माया’

तुलसी गिरी ‘भावुक’


साहित्यका विविध विधामा कलम चलाउँदै आएका गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को शव्दरचना, राम कार्कीको सङ्गीत तथा सङ्गीत संयोजन एवं योजना पुरीको स्वरमा रहेको गीत ‘आऊ न माया’ को भिडियो सार्वजनिक भएको छ l गीतमा बैंशले ढकमक्क फुलेकी युवती कसैप्रति आकर्षित भएको स्थिति र त्यो परिस्थितिमा आफूले मन पराएको मान्छेलाई सम्झिएर युवतीले व्यक्त गरेका प्रेमिल भावहरु व्यक्त भएका छन् भने गीतको भिडियोमा युवतीलाई मिलनको काल्पनिक संसारमा हराएको देखाईएको छ l युवती भन्छिन् – ‘आऊ न माया बसिदेऊ यो दिलैमा, तिम्रै लागि साँच्या छु जोवन l’ युवतीमा मिलनको व्यग्रता रहेको छ l  

राजु श्रेष्ठको निर्देशन रहेको यस भिडियोमा सुपा खनाल र गीतकार सुरेन्द्र महर्जन ‘अमर’ स्वयंको अभिनय रहेको छ । युवा पुस्तालाई लक्ष्यित गरेर भिडियो बजारमा ल्याईएको कुरा जानकारी गराउँदै गीतकार महर्जनले आम दर्शक / स्रोताले मन पराउने विश्वास समेत व्यक्त गरेका छन् l भिडियोको छायाङ्कन तथा सम्पादन सुरेश बज्राचार्यले गरेका हुन् भने मेकअप मनिषा भट्टराईको रहेको छ । गीतकारको आफ्नै युट्युब च्यानल Amar song’s बाट सार्वजनिक भएको यस भिडियोमा गायिका योजनालाई समेत देख्न सकिन्छ l