दृष्टिविहीन रुपेश, सुमन र नवराजको गीत सार्वजनिक

मोफसलमा बसेर पनि निरन्तर क्रियाशील रहेका लोकप्रिय गीतकार सुमन श्रापितको रचना एवं सङ्गीत प्रशिक्षक नवराज बराल र दृष्टिविहीन गायक रुपेश भण्डारीको आवाजमा रहेको आधुनिक गीत ‘जिन्दगीको रङ्ग’ सार्वजनिक गरिएको छ l वरिष्ठ गीतकार क्षेत्रबहादुर कुँवरको प्रमुख आतिथ्यमा त्रिवेणी सङ्गीतालयद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रममा सो गीत लोकार्पण गरिएको हो l कार्यक्रममा प्रमुख अतिथि कुँवरले आफूले गीत रेकर्ड गर्दाको समय स्मरण गर्दै पहिले र अहिलेको गीत सङ्गीतको शैली धेरै फरक भएको धारणा व्यक्त गरेका थिए । ‘समय सापेक्ष एवं स्रोताको माग अनुसार भएका सिर्जना र त्यस्ता सिर्जनाका सर्जक सधैं जीवित रहन्छन्’ प्रमुख अतिथि कुँवरले भने । ‘कहिले सादा कहिले रङ्गीन जिन्दगीको रङ्ग, यसैगरी बितिजान्छ सुख दु:ख सङ्ग’ बोलको यो गीत सबै पक्षबाट उत्कृष्ट बनेको कुरा समेत प्रमुख अतिथि कुँवरले बताए ।  

यसैगरी समालोचक मदन भण्डारीले दृष्टिविहीन गायक रुपेश भण्डारीको गायककीको प्रशंसा गर्दै अरु साधारण मानिस भन्दा दृष्टिविहीनहरु बढी  संवेदनशील र चेतनशील हुने धारणा राखेका थिए । गीतकार सुमन श्रापितले आजकल स्टेज र टिकटकलाई लक्ष्यित गरेर गीत लेखिने र त्यस्ता गीतको आयु पनि नहुने बिचार राख्दै आफू यस्तो कालखण्डमा गीतकार बनेकोमा दु:ख व्यक्त गरे l ‘यो समयमा चाहना हुँदाहुँदै पनि बाँच्ने र जीवन्त गीत श्रोतालाई दिन सकिएन र दिएपनि नचल्ने अवस्था छ’ श्रापितले भने ।

विमोचित गीतका सर्जक तथा त्रिवेणी सङ्गीतालयका प्रवन्ध निर्देशक नवराज बरालको सभापतित्वमा सम्पन्न सो कार्यक्रम कलाकार लक्ष्मण डुम्रेले सञ्चालन गरेका थिए । कार्यक्रममा कवि देशभक्त सिंह कुँवर, लोकगायक जीवन परियार, गायक रुपेश भण्डारी, माया भण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । दृष्टिविहीन गायक रुपेश भण्डारीले समारोहमा विमोचित गीत गाएर सुनाएका थिए ।