‘काँठे लोकदोहोरी महोत्सव’ का निर्णायकहरुको नाम सार्वजनिक

तुलसी गिरी ‘भावुक’

‘प्रथम राष्ट्रीय काँठे लोकदोहोरी महोत्सव २०७६’ का आयोजकले निर्णायकहरुको नाम सार्वजनिक गरेका छन् l डी. आर. मुविज एण्ड फिल्म्सको आयोजनामा यही फागुन १६ देखि २० गतेसम्म टुँडिखेलमा आयोजना हुन लागेको सो काँठे गीत महोत्सवका मुख्य र अतिथि गरी १२ जना निर्णायकहरुको नाम सार्वजनिक गरिएको छ l जस अनुसार महोत्सवमा नवराज घोरासैनीको संयोजनमा अम्बर विरही गुरुङ, घमेश दुलाल र सीता थापा गरी ४ जनाको मुख्य निर्णायक समिति रहने छ भने शिवनारायण जोशी, इन्दिरा गुरुङ, रेशम थापा, गीतादेवी, उद्धव कार्की, पार्वती कार्की, राम थापा ‘शिशिर’ र उमा श्रेष्ठले अतिथि निर्णायकको भूमिका निर्वाह गर्ने छन् l   

महोत्सवमा पहिलो, दोस्रो र तेस्रो विजेता समूहलाई क्रमश: नगद रु. ३ लाख, २ लाख र १ लाख सहित अन्य जिन्सी पुरस्कारहरुद्वारा पुरस्कृत गरिने छ भने शान्त्वना पुरस्कार विजेतालाई नगद रु. ५० हजार सहित अन्य पुरस्कार पनि प्रदान गरिने छ l यसैगरी महोत्सव अवधिभरबाट १ – १ जना उत्कृष्ठ गायक – गायिकाको छनोट गरी जनही रु. १० – १० हजारबाट पुरस्कृत गरिने छ l महोत्सवमा सहभागी हुन ईच्छुक कलाकारहरुले यही फागुन ११ गतेसम्ममा आफ्नो टिम दर्ता गरिसक्नुपर्ने कुरा आयोजकले जानकारी गराएका छन् l