अपलोड भएको ५ घण्टामै १ लाख नजिक भ्युज, ‘नसकिने भो’

तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायिका टिका प्रसाईं र सुमधुर स्वरका गायक लेखराज गुरुङको स्वरमा रहेको प्रेमगीत ‘नसकिने भो’ ले युट्युबमा अपलोड भएको ५ घण्टामै १ लाखको नजिक नजिक भ्युज पाईसकेको छ भने भ्युजको रफ्तार पनि लोभलाग्दो गरी बढिरहेको छ l टिका प्रसाईंकै शब्द / सङ्गीतमा रहेको यस गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ l गीतको मिक्सिङ / माष्टरिङ श्यामश्वेत रसाईलीले गरेका हुन् l

यस गीतकी गायिका टिका सर्वप्रिय गायिका हुन् l सरल तर ‘क्याच्ची’ शब्द अनि त्यसलाई सुहाउँदो सङ्गीत गरी टिकाले मै हुँ भन्ने गीतकार / सङ्गीतकारहरुलाई हेरेको हेरै पारेकी छिन् l शब्दरचना, सङ्गीत र भिडियो सबै पक्षबाट गीत समय सापेक्ष बनेको छ l

केही समय अगाडि ‘म्युजिक डायरी’ मासिकलाई अन्तर्वार्ता दिने क्रममा गायक लेखराज गुरुङले ‘नसकिने भो’ गीतले आफ्नो २० बर्षे लामो साङ्गीतिक जीवनमै ‘यु-टर्न’ ल्याउने विश्वास व्यक्त गरेका थिए l अरुका हैन आफ्नै गीत गाएर संसार घुम्न सक्ने क्षमता भएर पनि स्टुडियो प्राविधिक, होटल तथा रेष्टुरेन्टहरुका रात्रीकालीन गायक र सङ्गीत प्रशिक्षकको रुपमा लगभग २ दशक बिताएका लेखराजलाई उनले अपेक्षा गरे झैं यो गीतले संसारभर परिचित गराउने छ भन्ने यतिबेला सहजै अनुमान गर्न सकिन्छ l यस गीतका गायक / गायिका लेखराज र टिका पति – पत्नी हुन् l

गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफीमा निर्माण भएको यो गीतको भिडियो ‘ओएसआर डिजिटल’ नामक युट्युबबाट सार्वजनिक भएको हो l ‘कार्टुन क्रिउ’ का प्रमुख मोडल सरोज अधिकारी र आश्मा विश्वकर्माको साथमा अन्य कलाकारहरुको आकर्षक अभिनय / नृत्य रहेको यस भिडियोमा गायिका टिका र गायक लेखराजले समेत अभिनय गरेका छन् l

केही समय अगाडि आफ्नै साथीहरु बिभिन्न आरोप लगाउँदै ‘कार्टुन क्रिउ’ बाट बाहिरिएपछि विवादमा परेका सरोज र आश्माको भविष्य धरापमा परेको धेरैले अनुमान गरेका थिए l  पछिल्लो समय कतिपय सर्जक / कलाकारहरुमा आश्मा र सरोजलाई लिएर भिडियो बनाउने कि नबनाउने भन्ने द्विविधा समेत देखिएको थियो l तर सामाजिक सञ्जालमा गाली गर्ने २-४ जना मात्र दर्शक होईनन् र सरोज र आश्माको लोकप्रियता पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ भन्ने कुरा यो भिडियोले प्रमाणित गरिदिएको छ l

भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छयाङ्कन तथा शिलन लम्सालको सम्पादन रहेको छ l