गीतकार भुसालको चौथो एवं सङ्गीतकार मास्केको दशौँ एल्बम सार्वजनिक

तुलसी गिरी ‘भावुक’

नूतन भुसालको एकल शब्दरचना तथा सुनिल मास्केको एकल सङ्गीत रहेको आधुनिक गीति एल्बम ‘नूतन शैली’ सार्वजनिक भएको छ । शनिबार काठमाण्डौको बागबजारस्थित हेलो क्याफेमा एक कार्यक्रमको आयोजना गरी सो एल्बम सार्वजनिक गरिएको हो । ‘नूतन शैली’ गीतकार नूतनको एकल शब्दरचनाको चौथो र सङ्गीतकार मास्केको एकल सङ्गीतको १० औं गीति एल्बम हो । शुभकामना मिडिया सोलुशनले आयोजना गरेको सो कार्यक्रम गीतकार भुसालकी आमा रामकुमारी भुसालको सभापतित्वमा सम्पन्न भएको थियो भने सभापति रामकुमारी भुसाल लगायत कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराल, गीतकार डा. राजुबाबु श्रेष्ठ, सङ्गीतकार राजु सिंह, एल्बमका सङ्गीतकार सुनिल मास्के र गीतकार नूतनले एल्बमको संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रमलाई स्वागत गर्दै गीतकार भुसालले प्रवासमा रहँदा आफूले भोगेका र देश छोड्दा छोडिएका भावना र संवेदनाहरुलाई गीतमार्फत उजागर गरेको बताएकी थिइन् । उनले ‘नूतन शैली’ मार्फत् आधुनिक सङ्गीतमा एउटा इँटा थप्ने काम गरेको बताइन् भने सङ्गीतकार सुनिल मास्केको सहयोगले नूतन शैलीको निर्माण भएको जानकारी गराइन् ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सङ्गीतकार राजु सिंहले सुनिल मास्केका सङ्गीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताएका थिए भने गीतकार भुसालको लेखनबाट आफू लोभिएको धारणा समेत व्यक्त गरेका थिए । त्यस्तै गीतकार डा.राजुबाबु श्रेष्ठले उमेरमा जेठो हुँदैमा या लामो समयदेखि सिर्जनामा लाग्दैमा उसको सिर्जना उत्कृष्ट या जनप्रिय हुन्छ भन्ने हुँदैन भन्ने विचार राखेका थिए । डा.श्रेष्ठले युवा गीतकार लोकराज अधिकारीको नामै लिएर भने- ‘यति साना भाइहरुले हामीलाई जितिसके ।’ गीतकार भुसालको रचनाबाट आफू अत्यन्तै प्रभावित भएको कुरा समेत डा. श्रेष्ठले बताएका थिए l

कार्यक्रममा प्रमुख अतिथि डा.कृष्णहरि बरालले पहिला पहिला केटाको भाव केटीले सुन्ने किसिमका गीत बढी लेखिएको प्रसङ्ग राख्दै आजकल केटीले व्यक्त गरेका भाव केटाले सुन्ने गीतहरु आउन थालेको बताएका थिए l नारी चेतनामा आएको परिवर्तन र आफ्ना कुरा राख्न पाउनुपर्छ भन्ने समानताको सोचले गर्दा नै रचनात्मक शैलीमा पनि परिवर्तन आएको डा. बरालको आशय थियो l  भुसालको गीति लेखनले फरकपन दिएको बताउँदै बरालले निरन्तरतामा ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै गीतकार भुसालकी आमा रामकुमारी भुसालले आफूले छोरीको भावना बुझेर स्टेज दिन नसकेको बताउँदै छोरीका सिर्जनाले सबैको मन जित्न सकोस् भन्ने शुभकामना दिइन् । उनले समयअनुसार काममा ध्यान दियो भने नाम आफैं कमाउने विचार व्यक्त गरिन् । कार्यक्रममा ‘भंमराको भुनभुन सुन्छु’ र ‘थाहा छैन के हुन्छ’ दुई गीतको भिडियो समेत देखाइएको थियो । जसमा युवराज वाइवा र मदन खड्काको निर्देशन तथा अनिता रन्जितकार, सोनु लामा, मन्दिरा न्यौपाने, आश्विन भुसाल र ऋचा थापाको अभिनय रहेको छ ।

माघ २५ गते गीतकार नूतन भुसालको जन्मदिन समेत परेकोले एल्बम विमोचनसँगै केक काटेर जन्मदिन समेत मनाइएको थियो भने म्यूजिक खबरका तर्फबाट सम्पादक सविता पोखरेलले बुकीको साथमा  सम्झना स्वरुप मायाको चिनो दिएकी थिइन् । कार्यक्रममा एल्बमसँग सम्बन्धित स्रष्टा कलाकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रम सञ्चारकर्मी सरोज कोईरालाले सञ्चालन गरेका थिए ।

गीतसङ्ग्रह ‘नूतन शैली’ मा भमराको भुनभुन, थाहा छैन के हुन्छ, देखेको छैन, कुक्क लाग्यो बाडुल्की र  तिम्रो साथ भन्दा प्यारो गरी ५ वटा गीत समावेश गरिएको छ । जसमा प्रविशा अधिकारी, निशा देशार, मिना निरौला, प्रताप दास र पूर्णिमा लामाको स्वर रहेको छ । गीतमा प्रदिप श्रेष्ठ, सञ्जीव बराइली र सचिन सिंहको सङ्गीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एल्बम शुभकामना मिडिया सोलुशनको बजार व्यवस्थापनमा सार्वजनिक भएको हो ।