क्युट गायिका सुजिता, रातारात हिट

तुलसी गिरी ‘भावुक’

‘दार्जेलिङ घुम्नु रेलैमा’ बोलको गीत अहिले निकै चर्चामा छ । ‘यूमा आर्ट्स’ नामक युट्युब च्यानलमा यसको भिडियो हेर्न सकिन्छ l हुन त यो स्टुडियो भिडियो हो, तर लाखौँ खर्च गरेर तयार पारिएका सयौं भिडियोहरुलाई पछि पार्दै यसले ७ लाख बढी दर्शक पाईसकेको छ l ‘सुरिलो स्वर, चञ्चले हाउभाउ, क्युट अनुहार र स्वरमा लोकलयको अर्ग्यानिक मिठास भएकोले नै भिडियोले यति धेरै दर्शक पाएको हो’ यूमा आर्ट्सका प्रवन्ध निर्देशक एवं गायक / सङ्गीतकार खगेन्द्र यक्सो भन्छन् l यो गीतकी सुन्दरी गायिका सुजिता पोखरेल ‘लिम्बूवान आईडल सिजन 2’ की तेस्रो विजेता हुन् भने आयोजकबाट पुरस्कार स्वरूप उनले यो गीत गाउने अवसर पाएकी थिईन् l जीवनकै पहिलो गीत, त्यसमा पनि स्टुडियो भिडियो मार्फत् दर्शक-स्रोतामाझ आएकी सुजिताको यो सफलतालाई निक्कै ठूलो उपलब्धीको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l किनकि यो लोकप्रियताले उनको आगामी यात्राको लागि सानै भएपनि गोरेटो कोरिसकेको छ भन्दा फरक नपर्ला l

 ‘यो लोभलाग्दो सफलता कसरी जुर्यो त ?’  प्रश्न भुईमा नखस्दै सुजिता भन्छिन् – ‘खोई ! मलाई पनि सपना जस्तै लागिरा’छ l खाँदबारीमा ‘लिम्बूवान आईडल सिजन 2’ को अडिशन हुँदैछ भन्ने खबर पाएँ । सन्जोगले त्यो कार्यक्रमको संयोजक खाँदबारीकै पत्रकार नवीन दाहाल सर हुनुहुँदो रैछ, कम्ता खुशी लागेन । जिल्ला संयोजक कुमार अनुरागी सरकै म्युजिक स्कुलमा अडिशन हुने भएको रैछ । जिल्लाकै सरहरु हुनुभएकोले खासै अप्ठेरो लागेन । २०७३ मङ्सिर १० मा छनिएका 10 जनामा म पनि परें । दोस्रो चरणको छनोटका लागि मङ्सिर 15 मा अभिभावकसँगै तेह्रथुमको बसन्तपुर पुगें l कार्यक्रम निकै प्रतिस्पर्धात्मक लाग्यो । पहिलोपल्ट जिल्ला कटेको म l नयाँ सरहरु, तेह्रथुम बसन्तपुरको चीसो, आम्ममम ! निकै गाह्रो थियो त्यो क्षण । धनकुटा, तेह्रथुम र सङ्खुवासभा तीन जिल्लाको संयुक्त छनोटमा आफू पनि पर्दा छक्कै परें l यति खुशी भएँ कि, धेरै बेरसम्म सपना जस्तो लाग्यो । तेस्रो चरणको छनोटका लागि तेह्रथुमको म्याङ्लुङमा ९ वटै जिल्लाका प्रतोयोगीहरुबीच कडा प्रतिस्पर्धा  भयो l त्यहाँ पनि अर्को चरणका लागि अर्थात् फाईनल राउण्डका लागि म छानिएँ । यसरी एकपछि अर्को हुँदै बिभिन्न चरण पार गर्दै  २०७३, माघ १८, १९ र २० गते मोरङको उर्लाबारीमा आयोजित फाईनल प्रतिस्पर्धामा म सहभागी भएँ l तीन दिनसम्म चलेको सो भब्य अनि सभ्य फाईनल प्रोग्राममा मैले तेस्रो स्थान हासिल गरें l

आईडलको आयोजक यूमा आर्ट्सको ब्यावस्थापनमा ‘दार्जेलिङ’ बोलको गीत मेरो भागमा पर्यो । अनकन्टार खाँदबारीबाट यसरी प्रतियोगिताहरु धाउन र  काठमाण्डौ आउन धेरै कठिन छ l  सायद यो मेरो लगन, मेहेनत र तपस्याकै प्रतिफल होला मेरो भागमा मलाई सुहाउने गीत पर्यो अनि लाखौं दर्शक – स्रोताले पनि मन पराईदिनुभयो ।’ सुजिता भन्छिन् – ‘यो त मेरो पहिलो पाईला हो, अझै धेरै अगाडि बढ्न बाँकी नै छ l  भौगोलिक विकटताभित्रको एउटा गाउँमा गुमनाम रहेको कलिलो प्रतिभालाई खोजेर संसारभर पुर्याईदिनुहुने, तिमीले पनि केही गर्न सक्छौ भनेर हौसला दिनुहुने खगेन्द्र यक्सो सर, नवीन दाहाल सर, कमल हाङ्बाङ सर, कुमार अनुरागी सर, मेघराज सर साथै सम्पूर्ण आयोजक टिमलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।’

‘आयोजकले सुजिता पोखरेल लगायतका विजेता आईडलहरुलाई सङ्गीतको मूलबाटोमा पुर्याइदिएको छ  l आगामी दिनमा कसरी हिँड्ने ? कहाँसम्म हिँड्ने ? यो चैं उनीहरुकै रोजाई, लक्ष र मेहेनतमै भर पर्छ l हामीले त उज्ज्वल भविष्यको कामना गर्ने मात्र हो l उनीहरुको प्रगति देखेर ‘हाम्रा आईडलहरु !’ भन्दै गर्व गर्न पाईयोस्’ खगेन्द्र यक्सो भन्छन् l