बहुआयामिक सर्जक कमल बिरही

कहिलेकाहीँ सञ्चार माध्यमहरुले थुप्रै प्रतिभाहरु उजागर गरिरहँदा केही प्रतिभाशाली व्यक्तिहरु सम्झिन छुटिरहेका हुन्छन् । हुन त हरेक मानव जीवनमा उतारचढाव भई नै रहन्छ, तर केही यस्ता व्यक्ति पनि छन् जो अत्यन्तै सङ्घर्षका वावजुद पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको जगेर्नाको लागि निरन्तर लागिपरेका हुन्छन् । घरदेश हुँदाको क्षण होस् या परदेश हुँदाको माटोको माया हुनेले आफ्नो देशलाई योगदान दिई नै रहेका हुन्छन् । यस्तै एकजना बहुप्रतिभाशाली व्यक्ति हुन्- कमल बिरही थापा ।

बि.सं. २०४०, माघ १५ गते सुदूरपश्चिम, कैलाली जिल्लाको अत्तरियामा पिता स्व. सन्त बहादुर थापा र माता लक्ष्मी देवी थापाको कोखबाट जन्मिएका उनी पूर्व शिक्षक, पूर्व रेडियो कार्यक्रम सञ्चालक, गीतकार, गायक, सङ्गीतकार र विविध विषयका प्रशिक्षक पनि हुन् । जीवनको उतारचढावमा अत्यन्तै पीडाहरुको अनुभव भोगेका उनी सात बर्षको उमेरमा आगोले जलेका थिए । आर्थिक अवस्थाले मध्यम वर्गीय उनको परिवारले जसोतसो बचाउन सफल भए । उनी भन्छन्- ‘डाक्टरले हामी बचाउन सक्दैनौ बरु जे खान्छ दिनुस् भनेका थिए l मेरो लागि मेरो डाक्टर मेरो बुवा आमा नै हुनुहुन्छ ।’

आठ वर्षको उमेरदेखि स्कुलको कार्यक्रम मार्फत गायन क्षेत्रमा प्रवेश गरेका उनी अहिले थुप्रै गीतका सर्जक हुन् । ‘यही हो धर्म मानिसको’ भन्ने वातावरण सम्बन्धी गीत उनको पहिलोपटक रेकर्डिङ भएको गीत थियो भने पहिलो एल्बम ‘हजारी टोक्कर’ { डेउडा गीतको संगालो } थियो । सोही एल्बममा रहेको ‘जन्मथलो रोयाको छ’ बोलको गीतले त्यो बेला  अत्यन्तै चर्चा पाएको थियो । सो गीत अहिले रिमेक भर्सनमा भिडियो सहित यूट्युबमा आइसकेको छ ।
उनको आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘निलकमल फुल्यो’ { सालैजो लोकगीत } र  ‘बाटोमा ढुङ्गा’ { आधुनिक गीत } पनि अत्यन्तै राम्रा सिर्जनामा पर्दछन् । त्यसैगरी उनको शब्द तथा लयमा रहेका ‘बुद्ध जन्मे कहाँ, सिमलडाँडे दाइ, ढाक्यो धर्ती, कमल बिरही थापाका डेउडा गीतहरु (Juke box) यूट्युबमा हेर्न सकिन्छ । उनी लोक तथा दोहोरी, आधुनिक, डेउडा, कोरियन, हिन्दी, भियतनामी लगायत विविध प्रकार र भाषाका गीत गाउन सक्ने भर्सटाइल एवं पृथक क्षमता भएका गायक हुन् । हाल वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरियामा कार्यरत उनी परदेशमा पनि काम सङ्गै गीत सङ्गीतको सिर्जनामा पनि लागिरहेका छन् ।

साङ्गीतिक यात्राको सिलसिलामा राष्ट्रिय र अन्तर्राष्टिय भूमिमा रहँदा दर्जनौ सम्मानपत्र, कदरपत्र, अभिनन्दनपत्र तथा प्रशंसापत्र प्राप्त गरिसकेका उनी गेहेन्द्र ओराटरी अवार्ड २००८, साहित्यिक प्रतियोगितामा प्रथम स्थानहरू, उत्कृष्ट शिक्षक सम्मान आदिबाट सम्मानित भैसकेका छन् । उनले हालसम्म ३३ पटकभन्दा बढी रक्तदान पनि गरिसकेका छन् । साहित्यिक यात्रामा पनि उनी बि.सं. २०५२ सालदेखि अनवरत लागिरहेका छन् ।
सङ्गीतलाई अत्यन्तै माया गर्ने सर्जक / कलाकार कमल बिरही भन्छन- ‘गीत आज भाइरल भएर भोलि हराउने होइन कि सबैको मन मस्तिष्कमा सदैव गुन्जिरहने बन्नुपर्छ । यस्तो सिर्जनाले नै नेपाली गीत – सङ्गीत भण्डार सम्वृद्ध बनाउँछ l’ सामाजिक सेवामा पनि अत्यन्तै क्रियाशील उनी हरेक प्रकारका शब्द र लय बनाउन खप्पिस छन् । उनी भन्छन- ‘जीवनका थुप्रै चुनौतीपूर्ण अवस्थाले मेरो गन्तव्य ढिलो हुन सक्छ तर गन्तव्यमा म अवश्य पुग्नेछु।’ आफ्नो साङ्गीतिक यात्रामा सवा दुई दशक पार गरिसकेका उनी केही समयमै अन्य थुप्रै गीतहरुको रेकर्डिङ तथा केही पुस्तक प्रकाशनको तयारीमा समेत छन् । संख्यात्मक भन्दा गुणात्मकतालाई आफ्नो सिर्जनामा बढी जोड दिने उनी आफूलाई पूर्ण रुपमा चित्त नबुझ्दासम्म परिमार्जनमा लागिरहन्छन् । उनको यो सिर्जनशील यात्रा र निरन्तरताले नेपाली सङ्गीत तथा साहित्यको क्षेत्रमा विशेष महत्व राख्दछ l