सामूहिक नृत्यको विश्व रेकर्ड तोडिने

मारुनी मिडिया नेटवर्कको आयोजनामा १३ जना पुरुष तथा महिलाले २७ घण्टा लगातार सामूहिक नृत्य गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम राख्ने भएका छन् l गत शुक्रबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराईएको हो l  यसअघि सन् २०११, अक्टोबर ३१ मा अमेरिकाको एम. टी. भी. ओ. म्युजिक अवार्डको नाममा १३ जना महिला तथा पुरुषले लगातार २४ घण्टा १ मिनेट सामूहिक नृत्य गरी राखेको विश्वकै सबैभन्दा लामो सामूहिक नृत्यको रेकर्ड तोड्दै नेपाली युवाले नयाँ रेकर्ड राख्न लागेको कुरा आयोजकले जानकारी गराएका छन् l

नृत्यमा डिल बहादुर मगर { डिकेश }, केशर बहादुर पुर्जा, शान्ता तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ति शाही, यमुना रोक्का, संजु पुन र राजिन पुन सहभागी हुने कुरा थाहा भएको छ l  जसका लागि ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ ले अनुमति समेत दिईसकेको कुरा समेत आयोजकले जानकारी गराएका छन् l

आगामी फागुन २२ गते काठमाण्डौमा विशेष कार्यक्रमका साथ विशिष्ट व्यक्तिहरुद्वारा नृत्यको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ भने स्थान टुङ्गो लाग्न बाँकी रहेको कुरा जानकारी गराईएको छ l नृत्यकारहरुले नेपाली मौलिक भेषभूषा लगाउने छन् र नेपाली मौलिक तथा साँस्कृतिक गीतमा नृत्य गर्ने छन् l यस कार्यक्रमले नेपाली मौलिक लोक संस्कृति र नृत्यको विश्वभर प्रचार – प्रसार हुने र नेपाल र नेपाली कलालाई संसारभर चिनाउने विस्वास आयोजकले लिएका छन् l