‘सुमन श्रापित एकल साङ्गीतिक साँझ’ को आयोजना हुने

सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा प्रसिद्ध गीतकार सुमन श्रापितको एकल साँझ हुने भएको छ । शुक्रबार संस्थाका उपाध्यक्ष अभिमन्यू बिक्रम राणाको अध्यक्षतामा बसेको बैठकले गीतकार श्रापितद्वारा रचना गरिएका कर्णप्रीय गीतहरुको एकल प्रस्तुति ‘सुमन श्रापित एकल साङ्गीतिक साँझ’ को आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रम आगामी फागुन ३० गते पोखरामा आयोजना हुने छ । बैठक संस्थाका महासचिव मनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए भने संस्थाका संस्थापक अध्यक्ष प्रसिद्ध गीतकार एवं सङ्गीतकार नवराज बरालले एकल साँझको प्रस्ताव पेश गरेका थिए ।

बैठकमा संस्थाका सल्लाहकार वरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोला र गीतकार दुर्गा बहादुर शाह ‘बाबा’ ले संस्थाको गरिमालाई अझै उचो बनाउनको लागि यो कार्यक्रम सफल बनाउनुपर्ने कुरामा जोड दिंदै  त्यस्का लागि सबैले आ – आफ्नो ठाउँबाट लाग्नुपर्ने बताएका थिए । बैठकमा सर्जक सुमन श्रापितको पनि उपस्थिति रहेको थियो । ‘पोखरामा धेरै सङ्घ संस्थामा लागेर जीवनको उर्वर समय बिताएँ । सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानमा मेरो त्यस्तो उल्लेखनीय योगदान नभए पनि मेरा बिभिन्न कार्यक्रमहरु आयोजना गरेर ठूलो गुन लाउनुभाएको छ । यो मेरो चौथो कार्यक्रम हुने छ । एकल साँझ गर्ने जो कोही सर्जकको सपना हुन्छ । त्यो सपना मेरो पनि थियो र छिट्टै पूरा हुँदैछ । म सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानप्रति आभारी छु’ श्रापितले भने । कार्यक्रम कलाकार उपचार कोषको सहयोगार्थ आयोजना गर्न लागिएको कुरा  संस्थाकी सचिव जुना क्षेत्रीले जानकारी गराईन् । सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानले यसअघि हरिदेवी कोइराला, दुर्गा शाह ‘बाबा’, पद्मराज ढकाल र खिम गुरुङको एकल प्रस्तुतिका कार्यक्रम आयोजना गरिसकेको छ ।

गीतकार श्रापित विगत दुई दशकदेखि पोखरामा रहेर नेपाली गीत सङ्गीतमा क्रियाशील छन् । उनका लगभग दुईसय गीतहरु रेकर्ड भएका छन् । उदितनारायण झा, दिपा झा, प्रशान्त तामाङ, रामकृष्ण ढकाल, अञ्जु पन्त, हेमन्त शर्मा, बि.बि. अनुरागी, स्वरुपराज आचार्य, देविका बन्दना, माण्डवी त्रिपाठी, सुनिता दुलाल, राजु परियार, मेलिना राई, अञ्जना  गुरुङ, मिलन अमात्य लगायत नेपालका थुप्रै चर्चित गायक – गायिकाले उनको रचनाका गीत गाएका छन् । कार्यक्रममा उनीद्वारा रचित सिरिमा सिरी (फिल्म परदेशी), जसलाई मुटुको अंश, मेरो धड्कन तिमी, टिलपिल टिलपिल तारा, कहिले सादा कहिले रङ्गिन, कहिले ओराली झर्छ जिन्दगी (फिल्म जीवनलिला), तिम्रो मधुर मुस्कानले, अच्छा लेकिन क्या बात (फिल्म निशानी), पूर्वैबाट पश्चिममै आयौ (फिल्म निशानी), अब कसैले गल्ति नगरौं, दिलराजा दिलरानी, तिमीलाई त जहाजमा, काली काली दिलवाली (फिल्म दृष्टिकोण), बादल फाटेको बेला, आमाबाट सिकें मैले लगायतका गीतको प्रस्तुति रहने थाहा भएको छ ।