५४ विधामा अवार्ड प्रदान गर्दै  ‘दोस्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६’ सम्पन्न

तुलसी गिरी ‘भावुक’

गीत-सङ्गीत क्षेत्रका विभिन्न ५४ विधामा अवार्ड प्रदान गर्दै  दोस्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ सम्पन्न गरिएको छ । राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच कलाकर्मीहरुलाई अवार्ड प्रदान गरिएको हो । अवार्ड कार्यक्रम एपिक नेपाल म्युजिक प्रा.लि. ले आयोजना गरेको हो l  

समारोहमा नेपाली सङ्गीतको क्षेत्रमा ६ दशक भन्दा लामो समयदेखि योगदान पुर्याएको भन्दै विशिष्ट गीतकार किरण खरेललाई १५ हजार रुपियासहित ‘एपिक दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको छ । यस्तै अग्रज रङ्ग पत्रकार विदुर गिरीलाई ‘एपिक कला पत्रकारिता सम्मान’ द्वारा सम्मान गरिएको छ । सम्मानपत्र  पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले हस्तान्तरण गरेका थिए l यस अवार्डको निर्णायकको भूमिकामा नायक श्रीदेव भट्टराई, वरिष्ठ भिडिओ सम्पादक निशान घिमिरे, चलचित्र निर्देशक माधवराज खरेल र म्युजिक भिडिओ निर्देशक बबिता श्रेष्ठ रहेका थिए l  

समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीतको अवार्ड शान्तिप्रियले, आधुनिकतर्फ गायकको अवार्ड सुमन कुमार श्रेष्ठले, गायिकाको अवार्ड स्मृति शाहीले, गीतकारको अवार्ड डा. डी. आर. उपाध्यायले र संगीतकारको अवार्ड राजकुमार ब^गरले प्राप्त गरे भने आधुनिकतर्फ नै पुरुष मोडेलको अवार्ड सनम कठायतले, महिला मोडेलको अवार्ड टीना श्रेष्ठले, म्युजिक भिडिओ छायाकारको अवार्ड उत्सव दाहालले र म्युजिक भिडिओ निर्देशकको अवार्ड जनक सिंहले प्राप्त गरेका छन् ।

यसैगरी आधुनिक गायक पपुलरतर्फको अवार्ड कृष्णराज भण्डारीले, आधुनिक (नव प्रतिभा ) तर्फ गायकको अवार्ड उज्ज्वल गिरीले, गीतकारको अवार्ड कैलाश मैनालीले, पुरुष मोडेलको अवार्ड नवीन शिरिषले र महिला मोडेलको अवार्ड समीक्षा पोखरेलले हासिल गरे । समारोहमा लोक, पप, युगल गायन, चलचित्र लगायतका विभिन्न विधामा यो अवार्ड प्रदान गरिएको थियो ।