प्रथम ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव– २०७६’ को आयोजना हुने

राजधानीमा प्रथम ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६’ को आयोजना हुने भएको छ । ‘भिजिट नेपाल २०२०’ लाई सफल पार्न सहयोग पुर्याउने तथा काँठ क्षेत्रका गीत – सङ्गीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले डिएआर मुभिजको आयोजनामा आउँदो फागुन १६ देखि २० गतेसम्म काठमाडौंको टुँडिखेलमा महोत्सवको आयोजना गर्न लागिएको कुरा आयोजकले जानकारी गराएका छन् । केहीदिन अघि आयोजक संस्थाले महोत्सव सम्बन्धी विषयमा सरोकारवाला कलाकर्मीहरुसँग अन्तरक्रिया समेत गरेको थियो ।

‘काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मूल नारा लिएर महोत्वसको आयोजना गर्न लागिएको कुरा कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिएका छन् ।

कार्यक्रमका परिकल्पनाकार लोकदोहोरी गायक तथा सर्जक माधव थापा भन्छन् –’काठमाडौं आसपासका ११ जिल्लालाई काँठ क्षेत्रका जिल्लाका रुपमा चिनिदै आएको छ । त्यसभित्र परिचयात्मक, ऐतिहासिक र  साँस्कृतिक बिभिन्न लोकसम्पदाहरु लुकेर रहेका छन् । ती मध्ये एक हो काँठे लोकगीत –  सङ्गीत । जसमा घाँसेगीत, सेलो, खैंजडी भजन, झाँक्री, मारुनी, चुट्का, ठट्यौली, ठाडी,  धिमे आदि पर्दछन् । यस्ता लोक धरोहरलाई थप व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने हामीले विश्वास लिएका छौं । मेलापातमा मात्र गुञ्जदै आएका तर डिजिटल बजारमा व्यवसायिक रुपमा अगाडि आउन नसेकेका त्यस्ता नयाँ तथा पुराना भाका एवं  गीत – सङ्गीतलाई विश्व सामु उजागर गराउने र  ‘भ्रमण वर्ष २०२०’ को समेत प्रर्वद्धन गर्ने हाम्रो मूल उद्देश्य रहेको छ ।’

डिएआर मुभिज एण्ड फिल्म ईण्डष्ट्रिज प्रा.लि.का संरक्षक प्रभावन जे भन्छन्-  ‘साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज समग्र लोक साङ्गीतिक क्षेत्रले बिर्सिएको छ,  त्यसलाई  काँठ क्षेत्रमा रहेको एतिहासिक, पुरातात्विक, साँस्कृतिक, खाना, बाध्यवादन, भेषभूषा, रहनसहन, हस्तकला लगायतको प्रवर्धन गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा संस्कृतिको पुस्ता हस्तान्तरणका लागि प्रोत्साहन गर्ने तथा ती कुराहरुलाई विश्वसामु उजागर गराउने उद्देश्य सहित प्रथम ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६’ को आयोजना गर्न लागिएको हो ।’

टुँडिखेलमा आयोजना हुने सो कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिने भएको छ भने फागुन १६ गतेदेखि २० गते (पाँचदिन) सम्म चल्ने सो महोत्वसका लागि हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजे सम्मको समय व्यवस्थापन गरिएको छ । कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको बजोड प्रस्तुति रहने र व्यापार प्रवर्धनका लागि १ सय भन्दा बढी स्टलहरु रहने छन् ।

महोत्सवभित्रको खुला काँठे लोकदोहोरी प्रतियोगिता

‘प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६’ को अर्को महत्वपूर्ण कार्यक्रमको रुपमा ‘काँठे लोकदोहोरी प्रतियोगिता’ रहेको छ । देशभित्र तथा बाहिर जुनसुकै ठाउँमा रहेका कलाकारहरुले पनि यो प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना स्थान प्राप्त गर्ने कलाकारले क्रमश: नगद रु ३ लाख, २ लाख, १ लाख र  ५० हजार सहित मेडल, प्रमाणपत्र लगायत अन्य पुरस्कारहरु प्राप्त गर्ने छन् । प्रतियोगिता अवधिभरका एक – एकजना उत्कृष्ट गायक र गायिका छनोट गरी नगद सहित सम्मान गरिने कुरा समेत आयोजक डिएआर मुभिजले जानकारी दिएको छ ।

विविध सम्मान

कार्यक्रममा काँठे क्षेत्रको लोक गीत – सङ्गीतमा उल्लेख्य योगदान पुर्याएका स्रष्टालाई विविध सम्मान गरिनेभएको छ । जसमा पहिलो काँठे लोक गायक / गायिका – २ जना, सर्वाधिक काँठे गीत रेकर्ड गराएका २ जना, सर्वाधिक लोकप्रिय काँठे लोकगीत गायक – गायिका २ – २ जना, पुराना सर्जक कुमार बस्नेत, जयनन्द लामा, मच्छेश्वर सापकोटा, तीर्थ कुमारी थापा, मिरा थापा, मिरा राणा, ध्रुवराज खड्का, र शिवनारायण जोशीलाई समेत सम्मान गरिने भएको छ । ‘दिवंगत श्रष्टा सम्मान’ अन्तर्गत बुद्दिकृष्ण लामिछाने, कृष्ण विक्रम थापा, भगवती दंगाल र लाल बहादुर खातीलाई सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।