सुनिताका दुई कृति एकैसाथ, २७ बर्षपछि सुनिल मास्के गायनमा फर्किए

तुलसी गिरी ‘भावुक’

सुनिता बस्नेत थापाद्वारा रचित एवं सुनिल मास्केद्वारा सङ्गीतवद्ध गीति एल्बम ‘सुरबी’ एवं सुनिता बस्नेत थापाद्वारा रचित कवितासङ्ग्रह ‘विम्ब’ को एकैसाथ लोकार्पण गरिएको छ l माघ ३ गते शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा एक कार्यक्रमको आयोजना गरी दुबै कृतिको एकैसाथ लोकार्पण गरिएको हो l समारोह साहित्यकार हिरण्य कुमारी पाठकको प्रमुख आतिथ्य एवं गीतकार सङ्घ नेपालका अध्यक्ष चूडामणि देवकोटाको सभापतित्वमा सम्पन्न भएको थियो l

गीति एल्बम ‘सुरबी’ मा ‘तिमीलाई भेट्न आउँदैछु म, विन्ती माया गर्छु नभन मलाई, तिमी मेरो गीत, रातको सपना टुटेपछि र सम्झेर मलाई नरुनु प्रिय’ बोलका पाँचवटा गीत रहेका छन् l जसमध्ये एउटा गीत मेल – फिमेल अलग अलग स्वरमा रहेकोले ट्रयाक संख्या ६ रहेको छ l गीतमा मेलिना राई, विश्व नेपाली, अस्मिता अधिकारी, बानिका प्रधान, शिव परियार र एल्बमका एकल सङ्गीतकार सुनिल मास्के स्वयम्का स्वर रहेका छन् l एल्बमका कूल पाँच गीत मध्ये दुईवटा गीत प्रेम समर्पण एवं शृङ्गारिक छन् भने तीनवटा गीत वियोगान्त भावमा छन् l

प्रारम्भमा बाँसुरीवादक र त्यसपछि गायकका रुपमा करिव ३० बर्ष पहिले औपचारिक सङ्गीत यात्रा सुरु गरेका सुनिल मास्के वर्तमान सङ्गीत बजारका लोकप्रिय सङ्गीतकार हुन् l  लामो समय अघिदेखि सङ्गीत सिर्जनामै क्रियाशील रहँदै आएका मास्केले २७ बर्षपछि एउटा युगल र एउटा एकल गरी ‘सुरबी’ एल्बमका दुई गीतमा स्वर दिएका छन् l जसमध्ये मेलिना राईसँग उनले गाएको युगल गीत ‘तिमीलाई भेट्न’ को भिडियो समेत समारोहमा प्रदर्शन गरिएको थियो l युवराज वाइबाद्वारा निर्देशित सो भिडियोमा मास्के स्वयम्ले पनि अभिनय गरेका छन् l लोकार्पण समारोहका विशिष्ट अतिथि डा. कृष्णहरि बरालले मास्केको स्वरको प्रशंसा गर्दै लामो समयसम्म गीत नगाएकोमा आश्चर्य प्रकट गरेका थिए भने उपस्थित धेरैजसोले  उनलाई गायनमा समेत निरन्तरता दिन सुझाव दिएका थिए l

गोर्खा जन्मस्थल भई हाल अमेरिका बस्दै आएकी गीतकार तथा कवयित्री सुनिता बस्नेत थापा अमेरिकामा नर्सिङ् पेशामा आवद्ध रहेको थाहा भएको छ l स्वदेश तथा विदेशबाट प्रकाशित बिभिन्न पत्रपत्रिकाहरुमा नारी चेतना, स्वास्थ्य, शिक्षा, देशप्रेम तथा प्रेमप्रणय सम्बन्धी लेख एवं गीत – कविता प्रकाशन गर्दै आएकी सुनिताको यसअघि ‘दिदीलाई चिठी’ शीर्षकको श्रव्य क्यासेट सार्वजनिक भएको थियो l गीति एल्बम र पुस्तक भने यो पहिलो हो l

लगानीको दृष्टिकोणले डायास्पोरिक गीतकारहरुले नै नेपाली सङ्गीत बजारको आधा हिस्सा धानेको विचार राख्दै समारोहका प्रमुख अतिथि चूडामणि देवकोटाले अमर हुने यात्रामा अघि बढेको भन्दै सुनितालाई बधाई दिएका थिए l ‘जागिर खानेहरु, मन्त्री – सांसदहरु भूतपूर्व हुन्छन् तर सर्जकहरु कहिल्यै भूतपूर्व हुँदैनन् l यो अमर हुने यात्रा हो’ देवकोटाले भने l  यसैगरी वरिष्ठ गीतकार एवं समालोचक डा. कृष्णहरि बरालले लोकार्पित पुस्तकमा नारीवादी दृष्टिकोण र भावहरु रहेको विचार राख्दै भिन्न भिन्न विषयवस्तुले गर्दा पुस्तक पठनीय भएको बताएका थिए l

अर्का लोकप्रिय गीतकार डा. राजुबाबु श्रेष्ठले पुस्तकमा माटो बोलिरहेको, गाउँघरकै झल्को आईरहेको, यतैको सपना देखिरहेको र तन अमेरिकामा भएपनि मन नेपालमै रहेको भन्दै सुनिताको प्रशंसा गरेका थिए l ‘पुस्तकमा विविध विधा र भावका कविताहरु छन् l मलाई त चना चटपटे जस्तो लाग्यो’ राजुबाबुले भने l कविता, गीत, गजल र हाईकु गरी ८८ रचना सङ्ग्रहित यो पुस्तक स्व.पिता उपेन्द्र बस्नेतप्रति समर्पित रहेको कुरा कवयित्री सुनिताले पुस्तकमा उल्लेख गरेकी छिन् l अविरल झरीका वावजुद पनि लोकार्पण समारोहमा अतिथिहरुको उल्लेख्य उपस्थिति रहेको थियो l