–तुलसी गिरी ‘भावुक’
सुनिता बस्नेत थापाद्वारा रचित एवं सुनिल मास्केद्वारा सङ्गीतवद्ध गीति एल्बम ‘सुरबी’ एवं सुनिता बस्नेत थापाद्वारा रचित कवितासङ्ग्रह ‘विम्ब’ को एकैसाथ लोकार्पण गरिएको छ l माघ ३ गते शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा एक कार्यक्रमको आयोजना गरी दुबै कृतिको एकैसाथ लोकार्पण गरिएको हो l समारोह साहित्यकार हिरण्य कुमारी पाठकको प्रमुख आतिथ्य एवं गीतकार सङ्घ नेपालका अध्यक्ष चूडामणि देवकोटाको सभापतित्वमा सम्पन्न भएको थियो l
गीति एल्बम ‘सुरबी’ मा ‘तिमीलाई भेट्न आउँदैछु म, विन्ती माया गर्छु नभन मलाई, तिमी मेरो गीत, रातको सपना टुटेपछि र सम्झेर मलाई नरुनु प्रिय’ बोलका पाँचवटा गीत रहेका छन् l जसमध्ये एउटा गीत मेल – फिमेल अलग अलग स्वरमा रहेकोले ट्रयाक संख्या ६ रहेको छ l गीतमा मेलिना राई, विश्व नेपाली, अस्मिता अधिकारी, बानिका प्रधान, शिव परियार र एल्बमका एकल सङ्गीतकार सुनिल मास्के स्वयम्का स्वर रहेका छन् l एल्बमका कूल पाँच गीत मध्ये दुईवटा गीत प्रेम समर्पण एवं शृङ्गारिक छन् भने तीनवटा गीत वियोगान्त भावमा छन् l
प्रारम्भमा बाँसुरीवादक र त्यसपछि गायकका रुपमा करिव ३० बर्ष पहिले औपचारिक सङ्गीत यात्रा सुरु गरेका सुनिल मास्के वर्तमान सङ्गीत बजारका लोकप्रिय सङ्गीतकार हुन् l लामो समय अघिदेखि सङ्गीत सिर्जनामै क्रियाशील रहँदै आएका मास्केले २७ बर्षपछि एउटा युगल र एउटा एकल गरी ‘सुरबी’ एल्बमका दुई गीतमा स्वर दिएका छन् l जसमध्ये मेलिना राईसँग उनले गाएको युगल गीत ‘तिमीलाई भेट्न’ को भिडियो समेत समारोहमा प्रदर्शन गरिएको थियो l युवराज वाइबाद्वारा निर्देशित सो भिडियोमा मास्के स्वयम्ले पनि अभिनय गरेका छन् l लोकार्पण समारोहका विशिष्ट अतिथि डा. कृष्णहरि बरालले मास्केको स्वरको प्रशंसा गर्दै लामो समयसम्म गीत नगाएकोमा आश्चर्य प्रकट गरेका थिए भने उपस्थित धेरैजसोले उनलाई गायनमा समेत निरन्तरता दिन सुझाव दिएका थिए l
गोर्खा जन्मस्थल भई हाल अमेरिका बस्दै आएकी गीतकार तथा कवयित्री सुनिता बस्नेत थापा अमेरिकामा नर्सिङ् पेशामा आवद्ध रहेको थाहा भएको छ l स्वदेश तथा विदेशबाट प्रकाशित बिभिन्न पत्रपत्रिकाहरुमा नारी चेतना, स्वास्थ्य, शिक्षा, देशप्रेम तथा प्रेमप्रणय सम्बन्धी लेख एवं गीत – कविता प्रकाशन गर्दै आएकी सुनिताको यसअघि ‘दिदीलाई चिठी’ शीर्षकको श्रव्य क्यासेट सार्वजनिक भएको थियो l गीति एल्बम र पुस्तक भने यो पहिलो हो l
लगानीको दृष्टिकोणले डायास्पोरिक गीतकारहरुले नै नेपाली सङ्गीत बजारको आधा हिस्सा धानेको विचार राख्दै समारोहका प्रमुख अतिथि चूडामणि देवकोटाले अमर हुने यात्रामा अघि बढेको भन्दै सुनितालाई बधाई दिएका थिए l ‘जागिर खानेहरु, मन्त्री – सांसदहरु भूतपूर्व हुन्छन् तर सर्जकहरु कहिल्यै भूतपूर्व हुँदैनन् l यो अमर हुने यात्रा हो’ देवकोटाले भने l यसैगरी वरिष्ठ गीतकार एवं समालोचक डा. कृष्णहरि बरालले लोकार्पित पुस्तकमा नारीवादी दृष्टिकोण र भावहरु रहेको विचार राख्दै भिन्न भिन्न विषयवस्तुले गर्दा पुस्तक पठनीय भएको बताएका थिए l
अर्का लोकप्रिय गीतकार डा. राजुबाबु श्रेष्ठले पुस्तकमा माटो बोलिरहेको, गाउँघरकै झल्को आईरहेको, यतैको सपना देखिरहेको र तन अमेरिकामा भएपनि मन नेपालमै रहेको भन्दै सुनिताको प्रशंसा गरेका थिए l ‘पुस्तकमा विविध विधा र भावका कविताहरु छन् l मलाई त चना चटपटे जस्तो लाग्यो’ राजुबाबुले भने l कविता, गीत, गजल र हाईकु गरी ८८ रचना सङ्ग्रहित यो पुस्तक स्व.पिता उपेन्द्र बस्नेतप्रति समर्पित रहेको कुरा कवयित्री सुनिताले पुस्तकमा उल्लेख गरेकी छिन् l अविरल झरीका वावजुद पनि लोकार्पण समारोहमा अतिथिहरुको उल्लेख्य उपस्थिति रहेको थियो l