विमल र विष्णुको स्वरमा ‘विदेश जाँदै छु’, एउटै गीतमा ४ जोडी मोडल

  • तुलसी गिरी ‘भावुक’

    नेपाली लोकदोहोरी क्षेत्रका बहुचर्चित गायक बिमल डाँगी र विष्णु माझीको स्वरमा रहेको लोकदोहोरी ’विदेश जाँदै छु’ को भिडियो बजारमा आएको छ । बिमल डाँगीकै शब्दरचना तथा सङ्गीत रहेको यस गीतको भिडियो उनले आफ्नै युट्युब च्यानल Bimal Dangi बाट सार्वजनिक गरेका हुन् ।

लगभग १ हप्ता अगाडि मात्र युट्युबमा अपलोड भएको यो भिडियोले छोटो समयमै २ लाख हाराहारीमा भ्युज पाईसकेको छ भने भ्युज बढ्नेक्रम पनि उत्साहजनक दखिएको छ । यो हिसाबले भिडियो युट्युब दर्शकहरुमाझ निक्कै लोकप्रिय हुने अनुमान गर्न सकिन्छ । भिडियो बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादनमा निर्माण भएको हो । 

यस भिडियोमा पाको उमेरका सन्तोष पन्त र रमा थपलियाको एकजोडी  लगायत युवा उमेरका अमृत सापकोटा, रन्जिता गुरुङ, कमल सरगम, शुभेक्षा नेपाल, गणेश चौंलागाई र अञ्जना श्रेष्ठको तीनजोडी गरी कूल  चारजोडी मोडलहरुलाई अभिनय गराईएको छ । यस प्रकारको नौलो प्रयोग म्युजिक भिडियोमा विरलै देख्न पाइन्छ । 

  गीतमा ईच्छा नहुँदा नहुँदै बाध्यतावश अमिलो मन बनाएर परिवार र लालाबालाहरुलाई छाडी परदेश जानेहरुको मर्मस्पर्शी कथा छ । जुन कथा आम नेपालीहरुको घर घरको कथा हो ।

गीतको भाव अनुसार भिडियोलाई पनि उस्तै मर्मस्पर्शी बनाइएको छ भने श्रीमतीहरुले दु:ख सुख यहीं गरौँ परदेश नजाऊ भन्दा भन्दै पनि भिडियोको अन्त्यमा चारैजना पुरुषहरु एकैसाथ घर छाडेर हिंडेको विदारक दृश्य देखाइएको छ ।