‘भ्वाइस अफ नेपाल’ का विजेताहरु वर्ल्ड टुरमा जाने

  • तुलसी गिरी ‘भावुक’

    अत्यन्तै लोकप्रिय एवं चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन टु’ का ४ विजेताहरु साङ्गीतिक प्रस्तुतिका लागि ‘वर्ल्ड टुर’ मा जाने भएका छन् l ब्लु वर्ड इन्टरनेशनल इभेन्ट प्रा. लि. ले मङ्गलबार काठमाण्डौ स्थित एम्बेसी रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराएको हो l साङ्गीतिक कार्यक्रमको सिलसिलामा भ्रमण बर्ष २०२० को समेत प्रचारप्रसार गरिने कुरा कार्यक्रम संयोजक संस्था ब्लु वर्ड इन्टरनेशनल इभेन्ट प्रा. लि. का अध्यक्ष रोशन पराजुलीले बताएका छन् l

    प्राप्त जानकारी अनुसार आगामी मार्च ६ देखि २३ सम्म वेलायतका बिभिन्न शहरमा कार्यक्रमको आयोजना हुने छ भने मार्च २७ देखि अप्रिल १९ सम्म यूरोपका देशहरुमा कलाकारहरुले कन्सर्ट गर्ने छन् l यसैगरी जुनको तेस्रो साताबाट क्यानडाका शहरहरुमा चारवटा र अप्रिलको तेस्रो साता इजराइलमा एउटा कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुति दिने छन् l स्थानीय आयोजकको ‘डिमाण्ड’ अनुसार नै कलाकार लिएर जान लागिएकोले सबै कलाकारलाई सबै ठाउँमा नलगिने कुरा समेत रोशन पराजुलीले जानकारी गराए l 

    पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार उद्घोषकका रुपमा सुशील नेपाल, गायक शिशिर फागु, सनिश श्रेष्ठ र यन्की यल्मो सबै देशमा पुग्ने छन् भने अञ्जु राना मगर र आरिफ राउफ सबै कार्यक्रममा उपस्थित हुने छैनन् l कार्यक्रमबाट सङ्कलित रकमको केही प्रतिशत हास्य कलाकार सुलेमान इकुद्वारा सञ्चालित परोपकारी संस्था ‘स्नेहा आश्रम’ लाई सहयोग गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ l