शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित

लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका छन्। गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने सम्भवत: पहिलो नेपाली कलाकार हुन् । जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सी सिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वाचित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सी च्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्त रूपमा गायक परियारलाई प्रदान गरी सम्मान गरेका थिए। गायक परियारले आफ्नो २६ वर्षको साङ्गीतिक यात्रामा ५०० भन्दा बढी गीत गाईसकेका छन् भने १० वटा गीति एल्वममा सङ्गीत र स्वर दिएका छन् ।

जर्सी सिटी शहरमा जनवरी १२ तारिख न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजनामा डाकिएको साङ्गीतिक एवं सम्मान साँझमा गायक शिव परियारले आफ्ना सुमधुर गीतहरू गाएर उपस्थित पाहुनाहरूलाई भरपुर मनोरन्जन दिलाएका थिए । गायक परियारको बहुचर्चित गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गीत यूट्यूब च्यानलमा दुई करोड ५३ लाख (२५ मिलियन) भन्दा बढीले हेरिसकेका छन् भने ‘आँशुको अर्थ के थाहा’ गीत डेढ करोडले हेरेका छन् ।

उनले हालसम्म मोक्ष (२००५), स्वयं (२००८), कादम्बिनी (२००८), क्या दामी (२००९), फाटेको मन (२०१०), पागल (२०११), कथाले मागेपछि(२०१२), ओन्ली यू मेरो साथी (२०१२), टाढाको साथी (२०१३) र शिव बूक (२०१५) नामका गीति एल्बम प्रकाशन गरिसकेका छन् ।

रेडियो नेपालद्वारा सन् २००३ मा आयोजित राष्ट्रव्यापि आधुनिक गीत प्रतियोगितामा प्रथम भएका गायक शिव परियार (Officially, Shiv bahadur Pariyar)) त्यसयता नेपालका एक दर्जनभन्दा बढी राष्ट्रीय स्तरका पुरस्कारबाट पुरस्कृत भईसकेका छन् । उनी सन् २०१६ मा नेपाल सरकारबाट राष्ट्रीय प्रतिभा पुरस्कारबाट समेत सम्मानित गर्विला युवा गायक हुन् ।