‘राष्ट्रिय साँस्कृतिक महोत्सव २०७६’ सम्पन्न

  • तुलसी गिरी ‘भावुक’

    २ सय ९८ औं पृथ्वी जयन्ति तथा राष्ट्रीय एकता दिवसको अवसरमा सातै प्रदेशका लोक नृत्यहरुको प्रस्तुति रहेको कार्यक्रम ‘राष्ट्रिय साँस्कृतिक महोत्सव २०७६’ सम्पन्न गरिएको छ l गत पुष २७ गते साँस्कृतिक संस्थानको मेघा हाल { सत्यमोहन जोशी प्रेक्षालय } मा कार्यक्रमको आयोजना गरिएको थियो l साँस्कृतिक संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो l साँस्कृतिक संस्थानका सञ्चालक समिति अध्यक्ष प्रेमनाथ अधिकारीको सभापतित्व एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संस्थानका महाप्रवन्धक अशोक प्यासी राई, आयोजक प्रतिष्ठानहरुका कुलपति, उपकुलपति, मन्त्रालयका सचिव, सह सचिव, उच्च ओहदाका सरकारी कर्मचारीहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो l कार्यक्रममा एक नम्बर प्रदेशका कलाकारहरुले च्याब्रुङ, दुई नम्बरकाले झिंझिया, तीन नम्बरकाले धिमे, चार नम्बरकाले कौरा, पाँच नम्बरकाले झुमरा, छ नम्बरकाले झ्याउरे र सात नम्बरका कलाकारहरुले गौरा नृत्य प्रस्तुत गरेका थिए l

समारोहमा अतिथिहरुको स्वागत गर्दै साँस्कृतिक संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले संस्थानलाई थप गतिशील, व्यावसायिक र आत्मनिर्भर बनाउनका लागि गृहकार्य भईरहेको जानकारी गराउँदै आगामी नयाँबर्षबाट नै सबै योजनाहरु कार्यान्वयनमा अईसकने बताएका थिए l महाप्रवन्धक राईले अगाडि भने –’भिजिट नेपाल २०२० लाई समेत लक्षित गरी विदेशी पर्यटकहरुका लागि आगामी दिनमा साप्ताहिक रुपमा साँस्कृतिक प्रस्तुतिहरु नियमित गरिने छ भने संस्थानका गतिविधिहरुलाई साप्ताहिक रुपमा जानकारी गराउँदै मासिक कार्य प्रगति समेत सार्वजनिक गरिने छ l संस्थानलाई सबैले चाहेको र सोचेको जस्तो बनाउन हर सम्भव प्रयास गरिने छ l’ कार्यक्रमका सञ्चालक तथा संस्थानका नाट्य विभाग प्रमुख प्रभाकर देव शर्माले संस्थानको बिकाशका लागि हर तरहबाट नव नियुक्त महाप्रवन्धकलाई सबै कर्मचारीहरुको साथ रहने बताए l उनले भने –’सानै उमेरदेखि यहाँ जागिर खायौं l युवा उमेर यहीं बित्यो l त्यसैले संस्थान हाम्रो जन्मथलो र कर्मथलो दुबै हो l यसको उन्नति र सम्वृद्धि नै हाम्रो एकमात्र लक्ष र सपना हो l’ कार्यक्रममा प्रभाकर शर्माको शव्दरचना, विपिन घिमिरेको सङ्गीत तथा विपिन घिमिरे, शिला विष्ट अलि र साथीहरुको स्वरमा राष्ट्रिय एकताको गीत ‘घर हाम्रो नेपाल’ समेत प्रस्तुत गरिएको थियो l