भक्तपुरको समग्र चित्रण म्युजिक भिडियोमा

कपिल कस्पालको एल्वम ‘महसुस’ र ‘नेपाली शीरको कालो टोपी भक्तपुर भक्तपुर’ बोलको गीतको भिडियो लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान, संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः, वरिष्ठ सङ्गीतकार दीपक जंगम, साहित्यकार जितेन्द्र रसिक, कृष्णमुरारी गौतम, गायक कपिल कसपाल र नगरपालिकाहरुका मेयर उपमयेर लगायत व्यक्तिहरुले भक्तपुरको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएको सो गीतको भिडियो लोकार्पण गरेका थिए । गीतको रचना कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले गरेका हुन् । यस गीतको सङ्गीत तथा सङ्गीत संयोजन बि.बि. अनुरागीले गरेका छन् भने स्वर गायक कपिल कस्पालको रहेको छ । यस गीतलाई सम्पादन, उत्पादन तथा निर्माण व्यवस्थापनको संयोजन साहित्यकार जितेन्द्र रसिकले गरेका हुन् । भिडियो निर्माणको संयोजन भने गायक कस्पालले गरेका छन् । भिडियोमा सिंगो भक्तपुर जिल्लाको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएका छन् ।

लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेमध्वज प्रधानले लोकार्पित गीत तथा भिडियो नयाँ प्रयोग गरेर निर्माण गरिएको विचार राख्दै यसले अन्तर्राष्ट्रिय जगतमा भक्तपुरलाई चिनाउन ठूलो  भू्मिका खेल्ने बताए । त्यस्तै संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः, सङ्गीतकार दीपक जंगम लगायतले भक्तपुरको चारैवटा नगरपालिका समटिएको गीत निकै उत्कृष्ट र संस्कृति झल्काउने रहेकोले यो गीतको प्रवर्धन गर्न चारैवटा नगरपालिका लागि पर्नुपर्ने बताए । कार्यक्रममा गीतका संयोजक जितेन्द्र रसिकले गीत निर्माणका बेला भोग्नुपरेका आरोह अवरोहसँगै गीत तयार हुँदा सम्मका अनूभूति विनिमय गरे । गायक कपिल कसपालले गीतले भक्तपुरलाई विदेशमा पनि चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै गीतकार कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले १० वर्षदेखि आफूले देखेको सपना यो गीत रेकर्ड भएसँगै पूरा भएको बताए । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न बनेको यस भिडियोमा भक्तपुरबाट राष्ट्रियस्तरमा योगदान दिन सफल व्यक्तिहरु, बहालवाला मेयर, उपमेयर, कलाकार, साहित्यकार, संस्कृतिविद् र राजनीतिक व्यक्ति लगायतले भिडियोमा अभिनय गरेका छन् ।

यो गीत भक्तपुरको पर्यटन प्रवर्धनमात्र नभई ‘भिजिट नेपाल २०२०’ को लागि पनि उपयोगी गीतका रुपमा प्रस्तुत गरिएको छ । गीतलाई अंग्रेजी भाषामा ‘स्क्रोल’ राखिएकाले पर्यटकहरुले समेत सजिलै बुझ्न सक्ने छन् । यस गीतबाट विश्वभरिका दर्शक – स्रोता तथा पर्यटकले भक्तपुरको सम्पूर्ण कला, भाषा, साहित्य, परम्परा, रीतिरिवाजसँगै समग्र भक्तपुरबारे जानकारी प्राप्त गर्ने छन् । कार्यक्रममा गीतमा योगदान दिने व्यक्तिहरु तेजेश्वरबाबु ग्वंगः, दीपक जंगम, हरि बहादुर थापा, सुवाषचन्द्र ढुंगेल, सोम मिश्र, बिना बास्तोला, अन्जनादेवी मधिकर्मी, कृष्णमुरारी गौतम ‘चट्याङ् मास्टर, कपिल कस्पाल, केन्द्रबिन्दु अनलाइनका वरिष्ठ उपसम्पादक ​ जितेन्द्र रसिक, बि.बि अनुरागी, इन्दिरा लाछिमस्यु, गम्भीरराज विष्ट, नवराज गेलाल सम्मानित भएका छन् ।

त्यस्तै गीतमा योगदान पुर्याउने संस्थाहरु रेडियो हिमालयन ,नमस्ते टि.भि. भादगाउँ टि.भि., रेडियो मस्ती, च्यानल फोर टिभि, भक्तपुर एफएम, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका, भक्तपुर नगरपालिका, योयो बैङ्कक्वेट र कार्यक्रम प्रस्तोता किरण सुवाललाई कदरपत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा गायक कपिल कसपालको गीति एल्वम ‘महसुस’ समेत सार्वजनिक भएको छ ।

एल्वममा गीतकार तथा गायक कस्पालको स्वर र सङ्गीतमा रहेका गीतहरु मायाको चेक, मेरोराजा मेरो रानी, आयो दशैं तिहारै आयो, ती यादहरु र ठेकीभित्र मदानी गीत समेटिएका छन् । यी गीतहरुमा चर्चित गायिका अन्जु पन्त, सन्ध्या बुढा ‘काउली बुढी’, अधिश्री कस्पाल, गगन सरगम र कपिल कस्पाल स्वयंको स्वर रहेका छन् । त्यस्तै गीतहरुमा हरि लम्साल, बुद्ध सायमी, निम संगीत, बद्रिनारायण ताम्रकार र गायक स्वयंमको सङ्गीत रहेका छन् । कार्यक्रम रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिले आयोजना गरेको थियो ।