सर्जक बि.बि. अनुरागीलाई ‘धुन सम्राट’ को उपाधि

प्रसिध्द गीतकार, सङ्गीतकार, गायक, एवम सङ्गीत संयोजक बि.बि. अनुरागीलाई शनिबार पोखरामा ‘सम्पदा कला मन्दिर’ ले एक भब्य समारोहकाबीच ‘धुन सम्राट’ उपाधि सहित सम्मान गरेको छ । लामो समयदेखि सङ्गीत, गायन, गीत लेखन र सङ्गीत संयोजन जस्ता विविध विधामा संलग्न रही नेपाली गीत सङ्गीतमा उल्लेख्य योगदान पुर्‍याएका अनुरागीलाई सङ्गीत गर्दा होस् या सङ्गीत सम्योजन गर्दा छोटो र एकै बसाईमा विविधतापूर्ण ढङ्गले धुन भर्न सक्ने विशेष खुबी भएका बहुमुखी सर्जकको रुपमा उच्च मूल्याङ्कन गर्दै सो उपाधिले सम्मान गरिएको कुरा आयोजक संस्थाले जानकारी गराएको छ ।

समारोहमा सर्जक अनुरागी सहित चलचित्र निर्देशक घनश्याम लामिछाने, साहित्यकार रमा प्राशर, कलाकार मिलन शेरचन, लोक गायक पद्मराज ढकाल, प्रा.डा. याम बहादुर पौडेल क्षेत्री, विश्वमोहन गौचन, दीपेन्द्र सुनार, लगायत विविध क्षेत्रमा योगदान पुर्‍याएका अन्य व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष कवि देशभक्त सिंह कुँवरको सभापतित्व र केन्द्रीय सांसद सूर्य बहादुर के.सी. को प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा कवि देशभक्त सिंह कुँवरको पछिल्लो कृति सिजो सङ्ग्रह ‘सामाना’ को पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सूर्य बहादुर के.सी.ले सम्मानित व्यक्तिहरुलाई शुभकामना दिँदै सर्जकहरुमा देशको मुहार फेर्ने र देशको गरिमा बढाउन सक्ने शक्ति र सामर्थ्य हुने धारणा राखेका थिए । देशको अवस्था हेरिकन सही दिशा निर्देशन गरी देशको गरिमा बढाउन समेत उनले आग्रह गरे । त्यसैगरी  सम्मानित सबै सर्जकको प्रतिनिधित्व गर्दै ‘धुन सम्राट’ उपाधिद्वारा सम्मानित सर्जक बि.बि.अनुरागीले भने – ‘यो उपाधिले मलाई खुशी र चिन्तित उत्तिकै बनाएको छ । यति ठूलो उपाधि सहितको यो सम्मानले अत्यन्तै खुशी छु र चिन्तित यो मानेमा छु कि, यो सम्मानको लायक म थिएँ या थिइन फेरि पनि मलाई यो सम्मानको भारी बोकाउनुभयो । यो बोकेर गन्तब्यमा पुग्न मैले धेरै बाटो पार गर्नु छ । यो उपाधिले हौसला र चुनौति दुबै थपेको छ । आजसम्म जे जति काम गरें अब त्यो भन्दा अझै तीनगुणा काम गरेर र मात्र म गर्ने छु ।’ कार्यक्रममा संस्थाका संरक्षक एवं वरिष्ठ साहित्यकार क्षेत्र बहादुर कुँवर, अम्बिका राणा, लोकगायक एवम सारङ्गीवादक धन बहादुर गायक, लोकार्पित कृतिका सर्जक देशभक्त सिंह कुँवर लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चारकर्मी तिर्सना लक्ष्मी गुरुङले सञ्चालन गरेकी थिईन् ।

सर्जक बि. बि. अनुरागीले लोक, लोकपप, लोकदोहरी, आधुनिक, पप, चलचित्र, बिभिन्न भाषा – भाषिका र चाडपर्व विशेष लगायतका गरी लगभग १५ सयभन्दा बढी गीतमा धुन (सङ्गीत) भरेका छन् भने करिव ८ हजार गीतमा सङ्गीत संयोजन गरेका छन् । सयौं गीत गायन र रचना गरेका अनुरागीको गीत सङ्ग्रह ‘तिम्रै झल्को’ गतबर्ष प्रकाशित भएको थियो । आधा दर्जनभन्दा बढी एकल प्रस्तुति दिएका अनुरागीका ‘उडेर जून छुन्छु भन्थें, जहाँ तिमी त्यहाँ म, जाउँला रेलैमा सरर गोर्खा पल्टन, बिछोडको करौंतीले, तिम्रै झल्को लाउँछ निरमाया, जसलाई मुटुको अंश, दुई चुल्ठी बाटेर, लगायतका गीतहरु कालजयी छन् ।