‘रुवी’ एल्बमको पहिलो गीत भिडियोमा

  • तुलसी गिरी ‘भावुक’

    उदियमान गीतकार रुवी पोखरेलको शब्दरचना, वरिष्ठ सङ्गीतकार सुनिल मास्केको सङ्गीत तथा लोकप्रिय गायिका प्राश्ना शाक्यको स्वर रहेको आधुनिक गीत ‘आँसु’ र त्यसको भिडियो सार्वजनिक गरिएको छ l गत पुष २१ गते बागबजारस्थित हेल्लो क्याफेमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुमाझ गीत तथा भिडियो सार्वजनिक गरिएको हो l ‘आँसु’, गीतकार रुवीको एकल रचना र सङ्गीतकार मास्केको एकल सङ्गीतमा निकट भविष्यमै प्रकाशन हुन गईरहेको आधुनिक एल्बम ‘रुवी’ को पहिलो गीत भएको कुरा कार्यक्रममा जानकारी गराईएको थियो l यो एल्बमको मात्र नभएर गीतकार रुवीकै जीवनको पहिलो रेकर्डेड गीत समेत हो l समारोहमा पत्रकार शान्तिप्रिय, सङ्गीतकार सुनिल मास्के, गीतकार रुवी पोखरेल, गायिका प्राश्ना शाक्य, सङ्गीत संयोजक प्रदीप श्रेष्ठ र सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष शान्तिराम राई लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

पोखरेली गीतकार रुवी हाल हङकङ बस्दै आएकी छिन् । लामो समयदेखि वेल्जियमलाई कर्मथलो बनाईरहेका उनकै भाइ गीतकार अर्जुनरत्न ‘भिखारी’ को विशेष सक्रियतामा सङ्गीतकार मास्केसँग उनको सहकार्य सम्भव भएको हो । ‘म सानैदेखि कविता, गीत, गजल लगायतका साहित्यिक रचनाहरु गर्ने गर्थें l मेरो भाइ अर्जुनले डायरीमा मेरा रचनाहरु देखेको रैछ l उसैले सङ्गीतकार मास्केज्यूलाई मेरो गीत पठाएर सङ्गीत गर्न लगाएको हो । पहिलो गीत रेकर्ड भएपछि म धेरै उत्साहित भएकी छु l अहिले हामी एल्बमको तयारीमा छौं’ गीतकार रुवीले समारोहलाई जानकारी गराईन् । छोटो समयमा राम्रो ख्याति आर्जन गर्न सफल गीतकार अर्जुनरत्न ‘भिखारी’ को एल्बम ‘पञ्चामृत’ ले हालै सम्पन्न ‘आठौँ म्युजिक खबर म्युजिक अवार्ड’ मा सर्वोत्कृष्ट एल्बमको अवार्ड समेत जितेको थियो । बहुप्रतिभाका धनी गीतकार ‘भिखारी’ ले आफ्ना केही भिडियोमा जीवन्त अभिनय समेत गरेका छन् ।

सार्वजनिक गरिएको मिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । विकास दाहालको सम्पादन रहेको यस भिडियोमा जीवन भट्टराई, इस्टु कार्की र दिवास्ना भट्टराईको अभिनय रहेको छ । वियोगान्त भाव बोकेको भिडियोमा सवारी दुर्घटनाका कारण पति त पिता गुमाएको एक परिवारको पीडालाई पोख्ने प्रयास गरिएको छ ।

भिडियो लिंक

समारोहमा पत्रकारहरुको प्रतिनिधित्व गर्दै गीतकार एवं वरिष्ठ पत्रकार शान्तिप्रियले हरेक मान्छेका आ-आफ्ना रुची र हेर्ने दृष्टिकोण हुने भएकोले व्यक्तिपिच्छे फरक फरक ढङ्गले कुनैपनि सिर्जनाको आलोचनात्मक टिप्पणी गर्न नहुने विचार राखेका थिए । गीत तथा भिडियोको प्रशंसा गर्दै उनले खासगरी नयाँ प्रतिभालाई प्रोत्साहन दिनुपर्ने धारणा राखे । सङ्गीतकार सुनिल मास्केले गीत प्राप्त हुनासाथ एकैदिनमा सङ्गीत भरेको स्मरण गर्दै गीतकार रुवीका रचनाबाट आफू निकै प्रभावित भएको धारणा व्यक्त गरेका थिए । यसैगरी गायिका प्राश्ना शाक्यले आफू पप गीतबाट आएको स्मरण गर्दै भनिन् –’धेरै मान्छेहरुको यस्तो बुझाई हुन्छ, पपगीत गाउने कलाकारले अन्य प्रकारका गीत गाउन सक्दैनन् l स्रोतामाझ स्थापित मेरो पहिचान भन्दा फरक र मेलोडियश शैलीको गीत गाउँन पाउँदा धेरै खुशी लागेको छ ।’ समारोहमा रुवीका समकालीन साथीहरुले उनलाई खादा र फूलको माला लाएर सम्मान गरेका थिए । कार्यक्रम ‘म्युजिक खबर’ को संयोजनमा आयोजना भएको थियो भने धेरैको रोजाईका उद्घोषक नरेश भट्टराईले सञ्चालन गरेका थिए ।