स्व. सुक गुरुङको सम्झनामा शोकसभा

पोखरा । प्रसिध्द गीतकार एवं सङ्गीतकार स्व. सुक गुरुङको सम्झनामा पोखरामा शोकसभाको आयोजना गरिएको छ । ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, दोष कसैलाई दिन चाहन्न, आँखैमा झल्झली हितैको दौंतरी, दोबाटोमा आँखाहरु नजुधेको होइन, भाइटिकामा भेट्न आउनु है’ लगायतका गीतका सर्जक गुरुङको १३ औं पुण्यतिथिमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तर्राष्ट्रिय नेपाली गीत सङ्गीत मञ्चले शनिबार पोखरामा आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि लाक्पा लामा रहेका थिए । लामो समय पोखरामा रहेर सङ्गीत प्रशिक्षण गरी हाल काठमाण्डौ रहेका लामाले पोखरामा आफूले उत्पादन गरेका विद्यार्थीहरुको नाम लिदै सुक गुरुङ जस्ता प्रतिभावान सर्जकलाई अल्पायुमा गुमाउँदा पीडा भएको बताएका थिए । शोक सभामा उनका कालजयी गीतमा स्वर भरेका गायक रविन श्रेष्ठले यू.के.बाट आफ्नो सह यात्राको स्मरण गर्दै त्यति ठूलो बिमार हुँदा पनि उत्तिकै हाँसोठट्टा गरेर जीवन बिताएको देख्दा गीत सङ्गीतको जस्तै सुक दाइमा जीवन जिउने कला नि उत्तिकै रहेको मैले उहाँ बिरामी भएपछिको भेटमा पाएँ भन्दै शोक मन्तब्य पठाएका थिए । त्यस्तै यू.के. बाटै आएकी सुक गुरुङकी शुभचिन्तक सुधा गुरुङले सुक गुरुङले अलि पिउने बानीले जीवन गुमाउनु पर्‍यो भन्दै अन्य कलाकारहरुलाई पिउन छोडेर जीवनको महत्व बुझ्न सुझाएकी थिइन्। कार्यक्रममा ‘सुक गुरुङ उपचार सहयोग समिति’ का संयोजक जगन गुरुङ, साहित्यकार मदन भण्डारी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ लगायतले सुक गुरुङको विषयमा चर्चा र स्मरण गरेका थिए । स्वर्गीय सुक गुरुङकी धर्मपत्नी जुना गुरुङ सहित कार्यक्रममा परिवारका अन्य सदस्यहरुको समेत उपस्थिति थियो ।

शोक सभामा गायक विनित जोजिजू, सुनिल बराल र रामभक्त जोजिजूले गुरुङका गीत प्रस्तुत गरेका थिए । लामो समयदेखि मधुमेह र मृगौला रोगबाट पीडित गुरुङको पौष ६ गते आइतबार निधन भएको थियो । पेशाले भिडियो सम्पादक समेत रहेका गुरुङ २०५० देखि ६० को दशकमा चर्चामा थिए । उनको आफ्नै ११ एल्बम बजारमा आएका छन् भने एकल सङ्गीत र रचना रहेको इसारा भाग १ उनको पहिलो एल्बम भएको परिवार स्रोतले जानकारी गराएको छ ।

गुरुङको परिवारमा श्रीमती जुना सहित दुई छोरा र एक बुहारी रहेका छन् । उनी लामो समयदेखि पोखरा महानगरपालिका २७ आवासनगर डाँडाको नाकमा बस्दै आएका थिए । उनको स्थायी ठेगाना भने चितवन जिल्लाको दिव्यनगर हो । परिवारका अनुसार गीत लेख्नमा असाध्यै रुची राख्ने सुक गुरुङ मदिरा सेवन बढी नै गर्थे । जसका कारण उनी छिटो रोगी भए । ५४ वर्षको उमेरमै उनको निधन भयो । नेपथ्य ब्याण्डका अमृत गुरुङ र भीम पुन उनका सहपाठी हुन् । अन्तर्राष्ट्रिय नेपाली गीत सङ्गीत मञ्च पोखरा नेपालका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अग्रज तबलाबादक श्यामलाल श्रेष्ठ, कृष्ण मर्सानी लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन महासचिव सुमन श्रापितले गरेका थिए ।