तेस्रो एकल एल्बमको अन्तिम तयारीमा गायक अनुप

  • तुलसी गिरी ‘भावुक’

युवा गायक अनुप कुमार रेग्मी यतिबेला आफ्नो एकल स्वरको तेस्रो एल्बम रिलिजको तयारी गरिरहेका छन् l येदिन गजमेरको शब्द तथा सङ्गीत रहेको सो एल्बमको अन्तिम प्राविधिक कार्य भईरहेको कुरा गायक रेग्मीले जानकारी गराए l यसअघि उनले ०६५ सालमा ‘श्रेय’ र ०७२ सालमा ‘अधर’ नामका दुई एल्बम प्रकाशन गरेका थिए l सङ्गीत सिर्जना र गायनलाई सँगसँगै अगाडि बढाईरहेका सर्जक/कलाकार रेग्मीले एकल स्वरका बाहेक अन्य कलेक्शन एल्बमहरुमा समेत स्वर दिएका छन् l हालसम्म लगभग ५ दर्जन गीत गाईसकेका उनले लगभग ३ दर्जन गीतमा सङ्गीत भरेका छन् l

लामो समय अघिदेखि सङ्गीत क्षेत्रमा सङ्घर्ष गर्दै आएका अनुप कुमारको स्थाई ठेगाना धनुषाको खजुरी हो l पिता स्व. जगदिश रेग्मी र माता स्व. गौरीदेवी रेग्मीको कोखबाट जन्मिएका अनुपले ३ बर्षको कलिलो उमेरमै आमाको काख गुमाएका थिए l  बुबाको रेखदेख र वात्सल्यमा हुर्किएका उनले प्रारम्भिक शिक्षा स्थानीय स्कूलबाट नै पूरा गरेका थिए भने गायक बन्ने अभिलाषा समेत बोकेर उच्च शिक्षाका लागि उनी काठमाण्डौ आए l स्कूलले आयोजना गर्ने गरेका कार्यक्रमहरुमै गीत गाउने गरेका अनुपले काठमाण्डौमा कलेज पढ्न थालेपछि डोरेमी सङ्गीत पाठशालामा सङ्गीत सिक्न सुरु गरेका थिए l नयाँ ठाउँ, नयाँ परिवेश अगाडि बढ्न त्यति सजिलो थिएन l सङ्गीतमै केही गर्छु भन्ने सपना देखेका उनले त्यसै क्षेत्रसँग सम्बन्धित ठाउँमा जागिर खोज्ने क्रममा न्युरोडस्थित माष्टर रेकर्डिङ { ओम म्युजिक } मा काम पाए l ‘त्यहाँ रहँदा माहोल पनि बुझ्दै गएँ र धेरै मान्छेहरु पनि चिनें l जसले गर्दा मलाई आफ्नो उद्देश्यमा अगाडि बढ्न धेरै सजिलो पनि भयो’ उनी भन्छन् l
केहीबर्ष न्युरोडमा बिताएपछि उनी अनामनगरस्थित गुञ्जन ईन्टरटेनमेन्ट नामक रेकर्डिङ स्टुडियो तथा म्युजिक कम्पनीसँग जोडिन पुगे l अर्थात गुञ्जन उनको नयाँ कर्मथलो बन्यो l आफ्नो पहिलो एल्बम ‘श्रेय’ उनले गुञ्जनबाट नै निकालेका थिए l  जसमा न्ह्यु बज्राचार्य, सुरेश अधिकारी, राजु सिंह र आलोकश्री जस्ता प्रसिद्ध सङ्गीतकारहरुले सङ्गीत दिएका थिए l दोस्रो एल्बममा भने सुभाष गौतमको एकल शब्द रहेको छ भने उनको एकल सङ्गीत र स्वर l

गुञ्जन आईसकेपछि आफूले खोजे जस्तो साङ्गीतिक माहोल पाएको उनी बताउँछन् l दैनिक गीत रेकर्डिङ र राष्ट्रिय – अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारहरुको बाक्लो आवतजावतले गर्दा सर्जक / कलाकारहरुसँगको चिनजान र सम्बन्ध विस्तार हुन पनि समय नलागेको उनको बुझाई छ l  गुञ्जन आएपछि नै हो उनले केही चलचित्रमा समेत गीत गाएका छन् l हाल इमाडोल बसिरहेका अनुप कुमार आजीवन सङ्गीतकर्ममै समर्पित रहने बताउँछन् l