एकैपटक तीन भाषाका गीतमा गायिका सृष्टि

  • तुलसी गिरी ‘भावुक’

उदियमान गायिका सृष्टि नेपालीले एकैसाथ ‘कमलो मनको’ बोलको नेपाली, ‘प्यार जिन्दा है’ बोलको हिन्दी र I Was There बोलको अङ्ग्रेजी गरी तीन भाषाका गीत गाएकी छिन् l तीनवटै गीतको स्टुडियो भिडियो केहीदिन अघि सृष्टिको आफ्नै युट्युब च्यानल Shristi N The Music मा अपलोड समेत भईसकेका छन् l तीनमध्ये हिन्दी गीतको शब्दरचना शोभा मिश्रले गरेकी हुन् भने बाँकी २ वटा गीतका रचनाकार अर्जुन नेपाली हुन् l तीनवटै गीतमा अर्जुन नेपालीको सङ्गीत रहेको छ l भिडियोमा छायाङ्कन एवं सम्पादन रमण तामाङको रहेको छ भने गीतको म्युजिक एरेन्ज अर्जुन नेपाली र चन्दु गोर्खालीले गरेका हुन् l ‘हिन्दी र अङ्ग्रेजी रोमाण्टिक लभ सङ् हुन् भने नेपाली भाषाको गीत सन्देशमूलक रहेको छ l मायाप्रेम, सद्भाव र मानवीय भावको यस गीतले राम्रो मन भएमा संसारै राम्रो देखिन्छ l संसार राम्रो देखिए भेदभाव भन्ने नै हुँदैन भन्ने सन्देश दिएको कुरा समेत सङ्गीतकार अर्जुनले बताएका छन् l

हाल कक्षा ९ मा अध्ययनरत सृष्टि यतिबेला म्युजिक नेपालद्वारा स्थापित निजी क्षेत्रको नेपालकै एकमात्र सरकारी मान्यताप्राप्त म्युजिक स्कूल ‘नेपाल म्युजिक सेन्टर’ मा पियानो समेत सिकिरहेकी छिन् l भरखरै सम्पन्न ग्रेड फोरको परीक्षामा उनले पियानो ग्रुपमा मात्र नभएर म्युजिक स्कूलमै सर्वाधित नम्बर ल्याएकी छिन् l अर्थात उनले म्युजिक स्कुलमै टप गरेकी छिन् l सृष्टि लोकप्रिय सङ्गीतकार अर्जुन नेपालीकी छोरी हुन् l

आफूले घरमा गीत कम्पोज गर्दा र डमी एरेन्ज गर्दा छोरीले ३ बर्षको उमेरदेखि नै अत्यन्तै चाख मानेर सुन्ने / हेर्ने गरेको साथै आफ्नो पियानो खोजी खोजी बजाउने गरेको कुरा सृष्टिका पिता अर्जुन नेपालीले बताए l ‘तोतेबोली हुँदादेखि नै उनी गीत गाउन खुब रहर गर्थिन्’ सङ्गीतकार अर्जुन भन्छन् l शिशु उमेरदेखि नै छोरीको रुची भएका कारण पढाई सँगसँगै सङ्गीतमा पनि आफूले अगाडि बढाउने प्रयास गरेको कुरा समेत अर्जुनले जानकारी गराए l

सृष्टिले पहिलोपटक चर्चित गीत ‘सेल्फी हानौंला’ कभर गाएकी थिईन् भने उनको ओर्जिनल भर्सनमा यी तीनवटा गीत रेकर्ड भएका हुन् l ‘छोरी कभर गीत गाउन रहर गरिरहन्थिन् l कभर गीत गाउनुपर्छ l तर त्यसबाट राम्रा कुराहरु मात्र सिक्ने हो l कभरमा मात्र बानी पर्दै गयोभने पछि ओर्जिनल गाउन गाह्रो हुन्छ भनेर नै मैले यी तीन गीत रेकर्ड गराएको हुँ’ अर्जुनले वास्तविकता खुलाए l

‘राम्रो पियानिष्ट बनिन् भने सङ्गीतका कुनैपनि विधामा काम गर्न उनलाई सजिलो हुन्छ l  भविष्यमा उनी गायिका, सङ्गीतकार या पियानिष्ट जे बनेपनि म खुशी नै हुने छु l उनी अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचलित र मान्यताप्राप्त शैलीको नोटेशनमा र अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्कूल मार्फत पढिरहेकोले उनको ज्ञान भविष्यमा फलदायी नै हुने छ भन्ने मलाई विश्वास छ’ सङ्गीतकार अर्जुनले छोरीको सङ्गीत प्रशिक्षण र साङ्गीतिक भविष्यबारे आफ्ना धारणा यसरी राखे l  पियानोवादनमा अब्बल र गायनमा पनि राम्रो सम्भावना भएकी उदियमान गायिका सृष्टि भविष्यमा सिर्जनशील र सबैको प्रिय सङ्गीतकर्मीको रुपमा स्थापित हुने छिन् भन्ने सहजै अनुमान गर्न सकिन्छ l