‘सुर साधना’ को सोह्रौं शृङ्खला सम्पन्न, एकल गायनमा रश्मी

  • तुलसी गिरी ‘भावुक’

    साँस्कृतिक संस्थानले हरेक महिनाको अन्तिम बिहीबार आयोजना गर्दै आईरहेको एकल गायन कार्यक्रम ‘सुर साधना’ अन्तर्गत सोह्रौं शृङ्खलाको कार्यक्रम सम्पन्न भएको छ l मङ्सिर २६ गते संस्थानको हरि प्रसाद रिमाल प्रेक्षालय { मिनीहल } मा कार्यक्रमको आयोजना गरिएको थियो l वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको प्रमुख आतिथ्य एवं संस्थानका नि. महाप्रवन्धक प्रभाकर देव शर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो l

एकल गायनको सोह्रौं शृङ्खलामा गायिका रश्मी अमात्यले ‘पिरतीको लामो यात्रा’, ‘चन्द्र बनी शीतल दिन्छु’, ‘बिस्तारै बिस्तारै बिर्सन खोज्छु’, ‘तिमीलाई सधैं मनले’, ‘जाँदा जाँदै’, ‘दुई दिनको रमिता हो’, ‘म फूल बनेर’ बोलका आफ्नै गीतहरु प्रस्तुत गरेकी थिईन् भने उनले वरिष्ठ गायक स्व. फत्तेमान राजभण्डारीको कालजयी गीत ‘वनै खायो डढेलोले’ समेत गाएकी थिईन् l एउटा युगल गीतमा उनलाई संस्थानकै कलाकार ‘विपिन घिमिरेले स्वरमा साथ दिएका थिए l चीसोले गला बिग्रिएको भएपनि रश्मीले राम्रो गाउने प्रयास गरेकी थिईन् l

कार्यक्रममा गायिका रश्मीलाई संस्थानकै वाद्यवादकहरु दुर्गा प्रसाद खतिवडाले बाँसुरी, खर्क बहादुर बुढाले मादल, नरेश प्रजापतीले तबला र ढोलक, रोहित सुवेदीले किबोर्ड, लोकराज राईले गीतार, अनुप दासले बेस गितार, भगिरथ सुस्लिङले अक्टोप्याड र सीतामैया राजचलले सितार बजाएर साथ दिएका थिए भने रश्मीकै समकालीन गायिका शिला विष्ट अलीले रश्मीको बारेमा प्रकाश पारेकी थिईन् l  हाल नार्सिङ पेशामा आवद्ध रहेकी गायिका रश्मीले प्रयाग युनिभर्सिटीबाट सङ्गीतमा प्रभाकर उत्तीर्ण गरेकी छिन् l

समारोहमा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै संस्थानका नि. महाप्रवन्धक प्रभाकर देव शर्माले संस्थानकै गायक – गायिकाहरुलाई अभ्यास पनि हुन्छ र दर्शक – स्रोतासँग साक्षात्कारको अवसर पनि मिल्छ भन्ने उद्देश्यले ‘सुर साधना’ को आरम्भ गरिएको भएपनि ईच्छा हुँदाहुँदै बिभिन्न कारणले एकल गायनको कार्यक्रम आयोजना गर्न नसकेका जो कोही कलाकारलाई अवसर किन नदिने ? भन्ने निर्णय गरी सबैका लागि ढोका खुला गरिएको कुरा जानकारी गराएका थिए l उनले भने –’यो तपाईंहरुकै संस्था हो l आउनुस् हामी अवसर दिन्छौं l’

संस्थानले सम्पूर्ण प्राविधिक व्यवस्थापन सहित हरेक हप्ताको बिहीबार एकल साहित्यिक, एकल वाध्वादन, एकल गायन लगायतका कार्यक्रम नि:शुल्क आयोजना गर्दै आएको छ l यस प्रकारको कार्यक्रम संस्थानका पूर्व महाप्रवन्धक राजेश थापाको कार्यकालमा सुरु भएको थियो भने हालका नि. महाप्रवन्धक प्रभाकरले समेत यसलाई निरन्तरता दिंदै आएका छन् l समारोहमा वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक प्रकाश सायमी, पूर्व एआईजी रमेश कुमार श्रेष्ठ, पूर्व चलचित्र नायिका सनी रौनियार लगायतका सङ्गीतप्रेमीहरुको उपस्थिति रहेको थियो भने विपिन घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए l