लोकलयको म्युजिक भिडियो ‘ऐना हेरेर’ सार्वजनिक

गायक राजेशमान के.सी.ले लोक भाकामा गाएको गीत ‘ऐना हेरेर’ को भिडियो Highlights Nepal नामक YouTube च्यानल मार्फत् हालै सार्वजनिक भएको छ । गायक के.सी.ले केहीवर्ष अघि निकालेको  गीति एल्बममा समाविष्ट बिभिन्न ८ वटा लोक तथा आधुनिक गीतहरुमध्ये लोक भाकामा गाइएको यो कर्णप्रिय गीत म्यूजिक भिडियोको रुपमा सार्वजनिक गरिएको हो । यस गीतका सङ्कलनकर्ता स्याङ्जाका स्व० केशर बहादुर सेन हुन् भने गीतमा उल्लेखित शब्द ‘सोरेक डाँडा’ पनि स्याङ्जा जिल्लामै पर्दछ । भिडियो छवि थापा मगरको कोरियोग्राफी, सुशील डाँगीको छायाङ्कन र विजय थापाको सम्पादनमा तयार भएको हो । जसमा राजेश र नामिताको प्रमुख अभिनय रहेको छ ।

सामाजिक सञ्जालमा दर्शक / श्रोताहरुबाट गीतको राम्रो प्रतिक्रिया आईरहेको कुरा गायक के.सी.ले बताएका छन् । रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी राष्ट्रिय, आधुनिक, भजन र नेवारी समेत गरी करीव एक दर्जन गीत रेकर्ड गरईसकेका गायक के.सी.का केही गीतहरु नेपाल टेलिभिजनबाट समेत प्रसारण भएका  छन् । कार्यालयगत ब्यस्तताका कारण युवा उमेरमा आफूले गीत सङ्गीतमा खासै निरन्तरता दिन नसके पनि हाल जागीरे जीवनबाट निवृत्त भइसकेकाले अब बाँकी जीवन गीत – सङ्गीतमै लगाउने उनले सङ्कल्प गरेका छन् ।
बिभिन्न साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुँदा र सोही क्रममा स्टेजहरुमा गीत प्रस्तुत गर्दा दर्शकहरुबाट राम्रो रेस्पोन्स आउने गरेको र त्यसबाट आफू निकै उत्साहित भएको गायक के.सी.को भनाई रहेको छ । भनिन्छ, सिर्जनशीलतालाई उमेरले छेक्दैन । उमेरले ६० वर्ष टेक्न लागेका गायक के.सी. कलाकारका साथसाथै एक कुशल लेखक पनि हुन् । समसामयिक सन्दर्भलाई लिएर लेखिएका उनका थुप्रै लेख – रचनाहरु बिभिन्न नेपाली तथा अंग्रेजी राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् । झण्डै २५० वटा बिभिन्न विषयबस्तुका लेख – रचनाहरु आफूले लेखिसकेको उनले जानकारी गराए । त्यसो त उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) मा सेवारत रहँदा पनि रेडियो नेपाल र रेडियो सगरमाथाबाट “विज्ञान प्रविधि” रेडियो कार्यक्रम सञ्चालन गर्दथे । त्यतिखेर सो कार्यक्रम निकै लोकप्रिय समेत रहेको थियो । यसका साथै गायक के. सी. केही समय अघिसम्म “हिमालय टाइम्स” नेपाली राष्ट्रिय दैनिक पत्रिकाको नियमित स्तम्भकार समेत रहेका थिए  ।

Video Link