आरती श्रेष्ठको स्वरमा ‘के यो माया हो ?’

‘के यो माया हो ?’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । रोमन बज्राचार्यको शब्दरचना तथा सङ्गीत रहेको यस गीतमा अस्ट्रेलियामा बसोबास गर्दै आएकी आरती श्रेष्ठको आवाज सुन्न सकिन्छ । भिडियोमा जनकदीप पराजुलीको निर्देशन रहेको छ । जनकदीप चलचित्र तथा म्युजिक भिडियोमा परिचित नाम हो ।
भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक जनकदीपले फरक कन्सेप्टमा तयार पारिएकोले दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।  भिडियोमा रोजी पन्त र निर्जन थापाले मोडलिङ गरेका छन् । अस्ट्रेलियामा बसोबास गर्दै आएकी रोजीको यो पहिलो नेपाली म्यूजिक भिडियो हो भने यसअघि एउटा हिन्दी भिडियोमा मोडलिङ गरिसकेको कुरा उनले जानकारी गराएकी छिन् । उनले विदेशमा रहेपनि नेपाली कला क्षेत्रमा आफूलाई अगाडि बढाउने रुचि रहेको बताइन् । उनको जोडीको रुपमा अभिनय गरेका निर्जन थापा मोडलिङ क्षेत्रमा परिचित अनुहार हो । उनले सधैं आफूले राम्रो काम गर्ने प्रयास गर्ने गरेको बताए ।

कार्यक्रममा चलचित्र निर्देशक देवकुमार श्रेष्ठले  शुभकामना मन्तव्य राख्दै भिडियो आफूलाई सुन्दर लागेको प्रतिक्रिया दिए । ‘भिडियो नयाँ तरिकाले प्रस्तुत गरिएको रहेछ । हेर्दा आँखालाई आनन्द लाग्यो’ उनले भने ।
ओ. एम. जी इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस भिडियोमा भीमराज रसाईली, सिर्जना लोहगुन र सरस्वती गौतमले लगानी गरेका छन् । भक्तपुर दरवार स्क्वायर र नयाँ बानेश्वरका बिभिन्न स्थानमा छायाङ्कन गरिएको यो भिडियोलाई रणधीर श्रेष्ठले क्यामेरामा कैद गरेका हुन् । भिडियो सम्पादनको जिम्मेवारी भने ध्रुवराज पराजुली ‘प्रज्ज्वलित’ले निर्वाह गरेका छन् ।

Video Link