पूजा सुनुवारको ‘रहर’ सार्वजनिक

  – तुलसी गिरी ‘भावुक’

कर्णप्रिय स्वरकी धनी गायिका पूजा सुनुवारको दोस्रो एकल एल्बम ‘रहर’ लोकार्पण भएको छ l मङ्सिर ६ गते शुक्रबार अनामनगरस्थित युनियन हाउसको सभाहलमा आयोजित कार्यक्रममा गायिका पूजाको सो एल्बम औपचारिक रुपमा लोकार्पण भएको हो l कार्यक्रम सङ्गीतकार सङ्घका पूर्व अध्यक्ष एवं सल्लाहकार लक्ष्मण शेषको प्रमुख आतिथ्य तथा डश म्युजिक नेपालका सञ्चालक मध्येका एक लोकप्रिय गीतकार डी. पी. खनालको सभापतित्वमा सम्पन्न भएको थियो l
विमोचित एल्बम ‘रहर’ मा हुन्छ भनन, बेहुली, यो मौसम, वन साइड लभ र सुनुवार भाषाको नाम्सेवल { नमस्ते } गरी पाँचवटा गीत रहेका छन् l जसमा दीपक शर्मा, डी. पी. खनाल, राम गोपाल आशुतोष, खलानको मान्छे र कृष्ण सुनुवारका शब्दरचना र दीपक शर्मा, शंकर थापा ‘स्माइल’, शिव साम्पाङ, अनिश श्रेष्ठ र पुस्कर सुनुवारको सङ्गीत रहेको छ l एल्बमका दुईवटा युगल गीतमा पूजालाई डेविट शंकर र राजेशपायल राईले साथ दिएका छन् l
एल्बम लोकार्पण समारोहमा ट्रयाक नम्बर एकमा रहेको गीत ‘हुन्छ भनन’ को भिडियो समेत प्रदर्शन गरिएको थियो l सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकाश दाहालको सम्पादन रहेको यस भिडियोमा वर्षा राउत र प्रकाश सपुतको प्रमुख भूमिका रहेको छ भने भिडियो ‘डश म्युजिक नेपाल’ नामक युट्युव च्यानलमा हेर्न सकिन्छ l
उदयपुर, कटारी जन्मस्थान भएकी गायिका पूजाको पहिलो एल्बम ‘नजर’ २०७३ सालमा रिलिज भएको थियो l चलचित्र, आधुनिक तथा भाषाभाषी गरी हालसम्म २ सय भन्दा बढी गीतमा स्वर दिईसकेको कुरा पूजाले जानकारी गराएकी छिन् l दुईपटक ओएस नेपाल, दुईपटक बक्स अफिस र एकपटक पावर न्युज गरी ५ पटक आफ्नो विधामा अवार्ड जित्न सफल गायिका पूजाले नेपालका अतिरिक्त थाईल्याण्ड, सिङ्गापुर, दुबई, कतार, कुवेत, चीन र भारत जस्ता अन्तर्राष्ट्रिय मुलुकमा साङ्गीतिक भ्रमण गरेकी छिन् l

Video Link