गीतकार कालीप्रसाद र सङ्गीतकार सन्तोषको ‘उदास जवानी’

   – तुलसी गिरी ‘भावुक’

अग्रज गीतकार कालीप्रसाद रिजालको एकल शब्दरचना र लोकप्रिय युवा सङ्गीतकार सन्तोष श्रेष्ठको एकल सङ्गीतको एल्बम ‘उदास जवानी’ लोकार्पण भएको छ l गत कात्तिक ३० गते सर्वनाम थिएटर, काठमाण्डौमा सम्पन्न एक समारोहमा सो गीति एल्बमको लोकार्पण भएको हो l कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकवार्ताविद तुलसी दिवस, वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ सङ्गीतकार दीपक जंगम, एल्बमका मूल सर्जक वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र सङ्गीतकार सन्तोष श्रेष्ठले एल्बमको संयुक्त रुपमा लोकार्पण गरेका थिए l यो एल्बम सङ्गीतकार श्रेष्ठको ३२ औं एकल एल्बम हो l

विमोचित एल्बममा ‘एक्लो उदास जवानी, मै छोरीलाई गर्भमा नै, बाँच्दै नबाँचे पनि, मिसिएर दुईटा खोला र सामुन्नेमा उसलाई देख्दा’ गरी पाँचवटा गीत रहेका छन् l जसमा शिशिर योगी, मनोजराज, निशा देसार, राज सागर, रिता के. सी. र सहिमा श्रेष्ठको स्वर रहेको छ l दामु मर्सिफूलको शब्दरचनाको गीत ‘आउँछु भनि निष्ठूरीले’ पहिलोपटक रामकृष्ण ढकालको स्वरमा रेकर्ड गरी सङ्गीतकार सन्तोष श्रेष्ठले आफ्नो यात्रालाई औपचारिक मोड दिएका थिए भने १० बर्षपछि मेल र फिमेल भर्सनमा छुट्टाछुट्टै शिशिर योगी र अन्जु पन्तको स्वरमा समेत रेकर्ड भएको यो गीतले सीआरबीटी र पिआरबीटीमा पनि धेरै राम्रो व्यापार गरेको थियो l तथापि सङ्गीतकार श्रेष्ठको ‘टर्निङ पोईन्ट’ को रुपमा भने लोकराज अधिकारीको शब्द तथा अन्जु पन्तको स्वरमा रहेको गीत ‘तिमीले पराई ठानेपछि’ लाई लिन सकिन्छ l यो गीतले सीआरबिटी डाउनलोडमा नयाँ रेकर्ड बनाएको थियो l

कार्यक्रममा ‘उदास जवानी’ र ‘मै छोरीलाई’ दुई गीतका भिडियो समेत प्रदर्शन गरिएको थियो l दुबै भिडियो हेमप्रभासको निर्देशन र वीरेन्द्र भाट ‘विपिन’ को छयाङ्कन तथा सम्पादनमा निर्माण भएका हुन् l ‘मै छोरीलाई’ गीतको भिडियोमा सन्तोष श्रेष्ठ, सिर्जना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदिप रिजाल र लक्ष्मी रिजालको अभिनय रहेको छ भने ‘उदास जवानी’ मा वरिष्ठ चलचित्र लेखक/निर्देशक/अभिनेता मोहन निरौला र उषा खनाललाई देख्न सकिन्छ l एल्बम विमोचन पश्चात आफ्ना कुराहरु राख्दै सङ्गीतकार श्रेष्ठले कालीप्रसाद जस्ता अग्रज गीतकारले विश्वास गरेर आफूलाई एकल एल्बमको जिम्मेवारी दिनु आफ्ना लागि ठूलो पुरस्कार र सम्मान भएको विचार व्यक्त गरेका थिए l

Video Link