म्युजिक नेपालको ३६ औं वार्षिकोत्सवमा एल्बम प्रकाशन र विशिष्ट सर्जकहरु सम्मानित l

   – तुलसी गिरी ‘भावुक’ 

निजी क्षेत्रमा स्थापित  नेपालकै पहिलो म्युजिक कम्पनी म्युजिक नेपालको ३६ औं वार्षिकोत्सव सम्पन्न भएको छ l गत कात्तिक २९ गते वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा दरबारमार्गस्थित होटल याक एण्ड यतिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो l समारोहमा नेपाली सङ्गीत क्षेत्रका ४ मुर्धन्य सर्जकहरुलाई नगद सहित ‘म्युजिक नेपाल सम्मान’ र एकजना कर्मचारीलाई ‘दीर्घसेवा सम्मान’ अर्पण गरिएको थियो भने पूर्व अर्थमन्त्री वरिष्ठ गीतकार एस्पी कोईरालाको एकल शब्दरचना र लोकप्रिय सङ्गीतकार आलोकश्रीको एकल सङ्गीतमा रहेको गीति एल्बम ‘समय’ को समेत लोकार्पण गरिएको थियो l साहित्यिक क्षेत्रमा एस्पी कोईरालाको नामले सुविख्यात गीतकार कोईरालाको वास्तविक नाम शंकर प्रसाद कोईराला हो l यसअघि उहाँका  ‘टाँकीको घाँस’, ‘निर्वस्त्र नगरीमा’ कवितासङ्ग्रह एवं  ‘धड्कनभित्र’, ‘प्रहर’ र ‘उपमा’ शीर्षकमा एकल रचनाका गीति एल्बम प्रकाशन भईसकेका छन् l   समारोहमा विशिष्ठ गीतकारद्वय रत्नसमशेर थापा र किरण खरेल एवं विशिष्ट सङ्गीतकारद्वय दीपक जंगम र शम्भूजीत बासकोटालाई जनही नगद रु. ५० – ५० हजार र ट्रफिद्वारा सम्मान गरिएको थियो l यसैगरी ३५ वर्षदेखि म्युजिक नेपालमा सेवारत कर्मचारी कृष्ण खनाललाई ‘दीर्घसेवा सम्मान’ द्वारा उनको योगदानको कदर गरिएको थियो l
विमोचित एल्बममा ‘एक बुँद पानी, वैंशालु व्यथा, म तिम्रो रोजाईको, भैगो मलाई, छिनको भेट, अरुले मेरो, घैया धान, न त कुनै, अन्तै हेरेजस्तो, काँधमा खकन, जिन्दगीलाई जिन्दगी, मायाको मामिला र नेपाली भई’ गरी १३ वटा गीत रहेका छन् भने गीतमा प्रमोद खरेल, रामकृष्ण ढकाल, राज सिग्देल, अन्जु पन्त, प्रेमध्वज प्रधान, दीपक लिम्बू, विवेक श्रेष्ठ, जिना रसाईली, यम बराल, प्रल्हाद तिमल्सिना, नरहरि प्रेमी, कृष्ण काफ्ले, सिर्जु अधिकारी र रुपक डोटेलले स्वर दिएका छन् l
समारोहलाई सम्वोधन गर्दै म्युजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्माले भन्नुभयो -‘रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थानले तयार पारेको जगमा म्युजिक नेपालको स्थापना भएको हो l र, म्युजिक नेपालको स्थापना पछि नै नेपालमा सङ्गीतको व्यवसायले गति लिएको हो l जयनन्द लामाको एल्बम प्रकाशन गरी व्यावसायिक कार्यको सुरुआत गरिएको थियो भने त्यही बेलादेखि पछाडि फर्किएर हेर्नुपरेको छैन l नेपाली सङ्गीतको जग बसाल्न र यो क्षेत्रलाई गति दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका चार सर्जकहरुलाई सम्मान गर्न पाउँदा गर्वको अनुभूति भएको छ l
नेपालमा प्रतिलिपि अधिकार ऐन आउनुमा प्रवन्ध निर्देशक शर्माको  अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ भने नेपाली सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समय सापेक्ष डिजिटल रुपमा विस्तार गर्दै लैजानुमा पनि म्युजिक नेपालको अग्रणी भूमिका रहँदै आएको छ l म्युजिक नेपालले आफ्नो आधिकारिक अनलाइन रेडियो ‘म्युजिक सिटी’ मार्फत एवं एम.एन.एम. र एन. ओ. डी. एप मार्फत पनि संसारभरका श्रोता – दर्शकले गीत सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाएको छ l

Video link