संयुक्त हाईकुसङ्ग्रह ‘सम्बन्ध सूत्र’ को लोकार्पण

साहित्यिक विधाहरु मध्ये सबैभन्दा थोरै अक्षरमा लेखिने हाईकु विधाको पुस्तक ‘सम्बन्ध सूत्र’ सार्वजनिक भएको छ । १ सय १६ जना हाईकुकारहरुको रचना समेटिएको सो पुस्तक हालै मोरङ जिल्लाको बेलबारीमा आयोजित एक समारोहमा बेलबारी नगरपालिकाका अध्यक्ष ज्ञानेन्द्र सुवेदीको हातबाट लोकार्पण गरिएको थियो । १ सय ९४ पृष्ठको सो पुस्तकमा १ हजार ५ सय ७२ वटा हाइकु सङ्ग्रहित छन् । तीन हरफमा लेखिने हाइकुका पहिलो, दोस्रो र तेस्रो हरफमा क्रमशः ५, ७ र ५ अक्षर रहने गर्दछन् भने यसको सुरुआत जापानबाट भएको मानिन्छ । पुस्तक पूर्वाञ्चल हाइकु सङ्घले प्रकाशन गरेको हो ।

कार्यक्रममा वरिष्ठ कवि, गीतकार, गायक एवं हाइकुकार सुरेन्द्र महर्जन ‘अमर,’ पूर्वाञ्चल हाइकु सङ्घका अध्यक्ष तिला लेकाली,  साहित्यकारहरु मिश्र वैजन्ती, चेतनाथ धमला, धनकुटे कान्छा, पुण्य प्रसाद खरेल आदिको उपस्थिति रहेको थियो भने  पुस्तकभित्रका हाइकुकारहरु ईरान राई, सुमी लोहनी, डा. लोकराज पराजुली, डा. चूडा ढकाल, प्रा.जगत उपाध्याय ‘प्रेक्षित’, रेखा सुवेदी, रामप्रकाश अर्याल ‘अविराम’, रमेश निरौला, रामबाबु दाहाल, नारायण कार्की, लक्ष्मी श्रेष्ठ, खगेन्द्र बस्याल, रित्ता लेकाली, भीम कुमारी राई, तिला लेकाली लगायतले  पुस्तकमा समावेश हाइकु वाचन गरेका थिए । तिला लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रम हेमसागर पोखरेलले संचालन गरेका थिए ।