झमक घिमिरेको कथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ कात्तिक २२ बाट प्रदर्शनमा

साहित्यकार झमक घिमिरेद्वारा लिखित मदन पुरस्कार विजेता वहुचर्चित कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ आगामी कार्तिक २२ गतेबाट देशैभरका सिनेमा हलमा प्रदर्शन हुने भएको छ । चलचित्र विनोद विष्टको निर्माण तथा निर्देशनमा तयार भएको हो ।
चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भूमिकामा काठमाडौंकी रोजिता वुद्धचार्यले अभिनय गरेका छन् भने झमककी बहिनीको बाल भूमिकामा स्वीकृति शर्मा र ठूलो हुँदाको भूमिकामा आधुनिक गीत गायन तथा भिडियो मोडलिङमा समेत राम्रो ख्याती भएकी कलाकार सारिका घिमिरेको अभिनय रहेको छ । यसैगरी बुबाको भूमिकामा किसन सुनार, आमाको भूमिकामा उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधान लगायत ३० भन्दा बढी कलाकारले अभिनय गरेको कुरा चलचित्रका निर्माता तथा निर्देशक विनोद विष्टले जानकारी गराएका छन् ।
झमक घिमिरेको कथामा मुक्ति उपाध्याय बरालको पटकथा रहेको यस चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेका छन् भने  प्रकाशकै सङ्गीतमा जुनु गौतम, सविता गजमेर र मिना निरौलाले  स्वर दिएका छन् । जसमा कमल राईको नृत्य निर्देशन रहेको छ । यसैगरी शिव ढकालको छायाङ्कन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यस चलचित्रमा बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम सह निर्माताका रुपमा रहेका छन् । श्रीराम वालाजी टेलि फिल्मका सुनिल मानन्धर मार्फत वितरण हुने यो चलचित्रको यसअघि नै पोष्टर, गीत र ट्रेलर सार्वजनिक भईसकेका छन् । यस चलचित्रका निर्माता/निर्देशक विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘सङ्ग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण/निर्देशन गरिसकेका छन् ।

Song Link