गीत लेखनमा अपूर्व शिल्प

   – तुलसी गिरी ‘भावुक’

गीतकार अशोक कुमार तामाङको एकल शब्दरचनामा आधुनिक गीतसङ्ग्रह ‘मातृभूमि’ सार्वजनिक भएको छ l एल्बममा ‘हजार गल्ति तिम्रा मैले माफ गरिदिएँ’, ‘हाम्रो माया संसारभरि अमर बनिरहोस्’, ‘विदेशमा छु त के भो र ‘ र ‘एक अन्जुली मायाको प्यासी खोज्दै म तिमी सामु आएँ’ बोलका ४ गीत रहेका छन् l २ वटा गीत मेल – फिमेल भर्सनमा रहेकोले ट्रयाकको हिसाबले एल्बममा ६ वटा गीत सङ्ग्रह गरिएका छन् l जसमा सूर्य दयालुको एकल सङ्गीत, रिकेश गुरुङको एकल सङ्गीत संयोजन रहेको छ भने अन्जु पन्त, मेलिना राई, वुद्ध लामा र सूर्य दयालुले स्वर दिएका छन् l एल्बमको बजार व्यवस्थापन आरोमा इन्टरटेनमेन्टले गरेको छ l ‘मातृभूमि’ गीति एल्बम यस बर्षको ‘सातौँ राष्ट्रिय रापती म्युजिक अवार्ड’ मा सर्वोत्कृष्ट ५ एल्बमभित्र पर्न सफल भएको छ भने यसै एल्बमको ‘हजार गल्ति तिम्रा मैले’ बोलको गीत पनि एक्काइसौं ईमेज अवार्डमा सर्वोत्कृष्ट गीतमा पर्न सफल भएको छ l

मेलिना राईको स्वरमा रहेको यसै एल्बमको गीत ‘हाम्रो माया संसारभरि’ को भिडियोले यी हरफहरु लेखिरहँदा युट्युबमा अपलोड भएको ५ दिनमै ६३ हजार भ्युज पाईसकेको छ l हिजोआज युट्युबमा भ्युज बढाउन डलर खर्च गरेर ‘बुष्ट’ गर्ने प्रचलन भएपनि यो भिडियोले छोटो समयमा यति धेरै अर्ग्यानिक भ्युज पाउनु भनेको एउटा सर्जकका लागि अत्यन्तै उत्साहजनक नतिजा हो l l लगभग तीन महिना अगाडि अन्जु पन्तको स्वरमा रहेको यसै एल्बमको अर्को गीत ‘हजार गल्ति तिम्रा मैले’ को भिडियो सार्वजनिक भएको थियो l जुन भिडियोले यो समाचार लेखिरहँदा डेढ लाखको नजिक नजिक अर्ग्यानिक भ्युज पाईसकेको छ l तथापि ‘हाम्रो माया’ को लोकप्रियता हेर्दा यस्तो लाग्छ, यसले पहिलो भिडियोको भन्दा धेरै बढी दर्शक – स्रोताको माया पाउने छ l सर्जक अशोक स्वयंको युट्युब च्यानल ‘आरोमा इन्टरटेनमेन्ट’ मा अपलोड भएका यी दुबै भिडियो जीवन साहीको निर्देशनमा तयार भएका हुन् l दुबै भिडियोमा वुद्ध थापाको सिनेम्याटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ भने ‘हाम्रो माया’ मा क्रिशल कँडेल र रिमा गौतमले र ‘हजार गल्ति’ मा समीर तामाङ, सुशीला थापा र डिम्पी ठकुरीले अभिनय गरेका छन् l एल्बमका अन्य गीतका समेत भिडियो बन्ने क्रममा रहेको कुरा गीतकार अशोकले जानकारी गराएका छन् l गजव कुरा त के छ भने सर्जक अशोकको युट्युब च्यानल ‘अरोमा इन्टरटेनमेन्ट’ मा जम्मा २ वटा मात्र भिडियो अपलोड भएकोमा यिनै दुई भिडियोले मात्र च्यानललाई ‘मनिटाईज’ का लागि योग्य बनाएका छन् l भरखरै सम्पन्न सातौँ रापती म्युजिक अवार्डमा ‘हजार गल्ति’ बोलको गीतबाट अन्जु पन्तले वेष्ट फिमेल सिंगरको अवार्ड प्राप्त गरेकी छिन् l

‘मातृभूमि’ एल्बममा प्रेम समर्पण, प्रेम वियोग, राष्ट्र प्रेम र परदेशको पीडाहरु पोखिएका गीतहरु रहेका छन् l एल्बमको पहिलो गीत ‘हजार गल्ति’ मा प्रेमवियोग भाव व्यक्त भएको छ l वाचा कसमहरु झुटा भएका छन् l चोटै चोट दिएर कोही आफ्नो बाटो लागेको छ l तरपनि विश्वासघातीलाई गाली गरिएको छैन l सबै पीडा सहने धैर्यता पोखिएको छ l यसैगरी ट्रयाक  नम्बर २ को गीत ‘हाम्रो माया’ प्रेम समर्पण भावमा रहेको छ l प्रेम र राष्ट्रियतालाई एउटै सूत्रमा सुन्दर संयोजन गरिएको यो गीत प्रशंसनीय छ l दुई फरक विषयलाई गीतकारले यसरी एकाकार गरेर बेजोड बनाएका छन् कि गीतका हरफहरु थेसिस योग्य छन् l यो चिन्तन, यो अभिव्यक्ति र यो शैली साँच्चिकै अपूर्व लाग्छ l आफ्नो राष्ट्र, राष्ट्रियता, गौरव र आफ्नो पनको मायालाई उनले प्रेमगीतमा यसरी बुनेका छन् जुन शील्प असामान्य छ l कुनै अग्रज गीतकारले यो गीत लेखेको भए सायद सङ्गीत वृत्तमा यसको चर्चा फरक तरिकाले हुन्थ्योहोला l एल्बमको अर्को गीत ‘बिदेशमा छु’ मा पनि गीतकारले विदेशको पीडा, प्रेम र राष्ट्रियतालाई एउटै मालामा उनेर  गीतलाई गहकिलो र महकिलो बनाएका छन् l अनेक पक्ष र भाव बोकेको यो गीतलाई पनि गीतकारको विशिष्ठ शिल्पको एउटा उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ l यसैगरी एल्बमको चौथो गीत ‘एक अन्जुली’ मा भने कसैप्रतिको प्रेम भाव पोखिएका छन् l गीतमा जन्मजन्मान्तर सँगै बाँच्न चाहने याचनाहरु व्यक्त भएका छन् l आफ्नो प्रेमीप्रतिका गहिरा समर्पण भावहरु सुन्न सकिन्छ l गीतकार अशोकको यो एल्बम सुनिसकेपछि स्तरहीन धेरै सिर्जना गरेर हल्ला गर्ने र थोरै तर गुणात्मक सिर्जना गर्ने सर्जकहरु बीचको भिन्नता, महत्व र उपयोगिताबारे अवश्य पनि महसुस गराउने छ l एल्बमका एरेन्जर रिकेश गुरुङ, सङ्गीतकार सूर्य दयालु, गायक – गायिका र भिडियो निर्देशक जीवन शाहीको शिल्पलाई पनि समग्र गुणात्मकताको श्रेय नबाँडी रहन सकिन्न l

दक्षिणकाली नपा-१ निवासी पिता काली बहादुर तामाङ र माता कान्छी तामाङको परिवारमा पहिलो सन्तानको रुपमा जन्मिएका अशोक एक भाइ र एक बहिनीका दाजु समेत हुन् l हाल उनको परिवारमा श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन् l बाल र युवा उमेरमा उनी अलि कम बोल्ने लजालु स्वभावका थिए l त्यो स्वभावलाई अहिले भद्रताको रुपमा महसुस गर्न सकिन्छ l अशोकले बाघ भैरव स्कूल कीर्तिपुरबाट एसएलसी, पव्लिक युथ कलेज क्षेत्रपाटीबाट इन्टरमिडियट र सप्तगण्डकी क्याम्पस भरतपुरबाट शिक्षा शास्त्रमा स्नातक गरेका छन् l उनी विगतका केही वर्ष बिभिन्न शैक्षिक संस्थाहरुमा अध्यापकको रुपमा समेत सक्रिय थिए l सानैदेखि गीत – सङ्गीतमा रुची राख्ने उनका खेलकूद र साहित्य पनि रोजाईका बिषय हुन् l २०६० सालमै मथुरा श्रेष्ठको सङ्गीत, सङ्गीत संयोजन र स्वरमा उनको गीत ‘देउरालीको डाँडैमाथि पर्खी बस्छु तिमीलाई साथी’ पहिलोपटक रेकर्ड भएको थियो l गीतार उनको  प्रिय बाजा हो l उनले लगभग २ – २ बर्ष मथुरा श्रेष्ठसँग भोकल र गीतार अनि गोविन्द थापासँग भोकल { शास्त्रीय सङ्गीत } समेत सिकेका छन् l २०४८ सालतिर ‘स्होम्हेन्दो’ नामक साँस्कृतिक परिवारको उपाध्यक्षको जिम्मेवारी सम्हालेका अशोक त्यो बेलाको उत्साह र कामहरुको बारेमा बेलिबिस्तार लाउँदै भन्छन् -‘हामीले धेरै ठाउँमा कार्यक्रमहरु आयोजना गर्यौं l त्यतिबेला अहिलेको जस्तो सुविधाहरु थिएन l आफैं सामान बोकेर स्टेज बनाउँथ्यौं l खाना पकाएर कलाकारलाई ख्वाउँथ्यौं l हाम्रो गाउने, बजाउने र डान्स गर्ने समूहमा पनि थियो l हामी आफूपनि प्रस्तुति  दिन्थ्यौं र बाहिरबाट पनि कलाकार ल्याउँथ्यौं l मैले पनि स्टेजमा धेरैपटक गीत गाएको छु l ती दिन सम्झँदा रमाईलो लाग्छ l’

नेपाली सङ्गीत क्षेत्रमा गीतकार अशोक कुमार तामाङका गीत संख्यात्मक हिसाबले थोरै लागेपनि उनको उपस्थितिलाई कोईलाको बीचको हिरा वा ढुङ्गाहरु  बीचको शालिकरामको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l आफ्नो गीतकारितालाई निरन्तरता दिईरहे नि:सन्देह  भविष्यमा औंलामा गन्न सकिने अब्बल दर्जाका थोरै गीतकारहरु मध्येमा उनको पनि नाम लिन सकिन्छ l

Video Link