पुष्पा बोहराको ‘मान्छे चिन्ने हो’ रिलिज, छोटो समयमा उत्साहजनक अर्ग्यानिक भ्युज

   – तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायिका पुष्पा बोहराको युगल गीत ‘मान्छे चिन्ने हो’ को भिडियो सार्वजनिक भएको छ l ‘वर्ल्ड कभर मिडिया’ नामक युट्युब च्यानलबाट शुक्रबार साँझ सो भिडियो दर्शक-स्रोतामाझ सार्वजनिक भएको हो l सुरेश साहीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको यस युगल गीतमा पुष्पालाई सुरेशले नै स्वरमा साथ दिएका छन् l वीरेन्द्र भाट ‘ विपिन’ को निर्देशन तथा सम्पादन, विक्रम चौहानको कोरियोग्राफी र राम सिंह भाटको सिनेम्याटोग्राफी रहेको यो भिडियोमा याङ्सु श्रेष्ठ र सुरज थापाको नृत्य अभिनय रहेको छ l भिडियो वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l युट्युबमा अपलोड भएको १२ घण्टामा भिडियोले ९ हजारको नजिक नजिक अर्ग्यानिक भ्युज पाईसकेको छ l जसलाई उत्साहजनक नतिजाको रुपमा लिन सकिन्छ l सुदूरपश्चिमको विकट पहाडी जिल्ला दार्चुला, खण्डेश्वरीकी गायिका पुष्पाका ‘बाहुन बाज्या’ { देउडा }, ‘मुई डोली चड्न्या   बेला’ { देउडा }, ‘मनको साइनो’, ‘मेरै हौ कि होईनौ’, ‘सोल्टीज्यू’ , ‘दुना टपरी’, ‘झ्याम पुतली’ लगायतका गीत निक्कै लोकप्रिय छन् l ‘झ्याम पुतली’ बाट उनले ‘नेशनल पावर न्युज’ नामक अवार्ड समेत प्राप्त गरेकी छिन् भने उनको स्वरमा रहेको ‘आया कन्चनपुरका मेला’ बोलको महोत्सव जिंगल समेत निक्कै लोकप्रिय भएको थियो l

पिता केशव सिंह बोहरा र माता हिरमती बोहराको परिवारमा जेठी छोरीको रुपमा जन्मिएकी पुष्पा बाल उमेरदेखि नै सङ्गीतप्रति आकर्षित थिईन् l तर घरमा गाउने वातावरण थिएन l स्कूलदेखि इन्टरसम्मको पढाई भारत, उतराखण्ड, धार्चुलाबाट पूरा गरेकी पुष्पाले स्कूलदेखि नै गायन प्रतियोगिताहरुमा भाग लिने गरेकी थिईन् भने कलेज जीवनमा त प्रायजसो प्रथम पुरस्कार उनकै पोल्टामा आउँथ्यो l पहिलोपटक स्टेज उक्लँदाको अनुभव सुनाउँदै उनी भन्छिन् -‘दार्चुलाको सदरमुकाम खलङ्गामा ठूलो कार्यक्रम थियो l काठमाण्डौबाट धेरै कलाकार गएका थिए l मैले रामकृष्ण ढकालसँग ‘छिटको गुन्यु’ युगल गाउने मौका पाएकी थिएँ l’२०६३ सालमा स्नातक पढ्नका लागि उनी काठमाण्डौ आएकी थिईन् l कलेज, डेरा र अन्य खर्चका लागि घरबाट पठाएको सीमित पैसा खाजा समेत नखाई नखाई बचाएर उनी ‘डोरेमी सङ्गीत पाठशाला’ मा सङ्गीत सिक्न थालिन् l त्यही साल तत्कालिन युवराज दीपेन्द्रको जन्मोत्सवमा प्रज्ञा प्रतिष्ठानमा अधिराज्यव्यापी लोकदोहोरी प्रतियोगिताको आयोजना भएको थियो l जसमा उनको जोडीले तृतीय पुरस्कार जित्यो l उनले डोरेमीमा भानुभक्त ढकाल र रविनदास श्रेष्ठसँग लगभग ३ बर्ष र पछि चण्डीप्रसाद काफ्लेसँग त्यति नै समय शास्त्रीय सङ्गीत सिकेकी छिन् l ‘म सङ्गीत सिक्दै छु, गीत गाउँदै छु भन्ने कुरा सुरुमा घरमा थाहा नै थिएन l रेडियो नेपालबाट गीत बज्न थालेपछि बल्ल थाहा पाउनुभयो’ उनले हाँस्दै भनिन् l

‘मेरो प्रावि. र निमावि. को स्थाई लाईसेन्स थियो l अभिभावकहरुले पनि मैले सरकारी जागिर खाएको नै हेर्न चाहनुहुन्थ्यो l बझाङ जिल्लाको एक स्कूलमा जागिर पनि मिल्यो, तर खै ! मलाई सङ्गीत क्षेत्र छाडेर जान मन नै लागेन l गएको भए यतिबेला निमाविको स्थाई टिचर भईसक्थेंहोला !’ उनले विगत सम्झंदै भनिन् l

पहिलोपटक काँठे गीत रेकर्ड गरी आफ्नो गायन यात्रा सुरु गरेकी पुष्पाले देउडा, लोकदोहोरी, आधुनिक, फिल्मी, भजन, तामाङ सेलो, चौधरी आदि गरी हालसम्म करिव ६ सय गीतमा स्वर दिईसकेको कुरा बताएकी छिन् l दुबई, कतार, उत्तराखण्डका अधिकांश ठाउँ, दिल्ली, मुम्बै, गुजरात, पंजाव जस्ता विदेशी भूमि तथा सुदूरका ९ जिल्ला तथा रामेछाप, नुवाकोट, धादिङ, सिन्धुली, कास्की आदि ठाउँका बिभिन्न स्टेजबाट आफ्नो गलाको माधुर्यताले स्रोताको मन जित्न सफल पुष्पा सबै शैलीको गीत गाउन उत्तिकै रुची राख्छिन् l यस बारेमा उनी भन्छिन्- ‘कलाकार भएपछि जस्तो गीत पनि गाउनुपर्छ तर धेरैले देउडा गायिका पनि भन्नुहुन्छ, खुशी लाग्छ l’

भिडियो लिंक :