नेपाली सङ्गीत आकाशकी चम्किलो तारा : सुमिता राई

   – तुलसी गिरी ‘भावुक’

उदियमान गायिका सुमिता राईको एकल स्वरमा आधुनिक तथा लोकआधुनिक शैलीको गीति एल्बम ‘सगुन’ सार्वजनिक भएको छ l केहीदिन अघि काठमाण्डौमा आयोजित एक समारोहमा वरिष्ठ सङ्गीतकार शिला बहादुर मोक्तान, वरिष्ठ गायिका कुन्ति मोक्तान, वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेल, कवि – गीतकार प्रकाश सायमी, गीतकार तुलसी बस्नेत, सङ्गीतकार विक्रम राई र भिडियो निर्देशक गोविन्द राईले एल्बमको संयुक्त रुपमा विमोचन गरेका थिए l

गीति एल्बम ‘सगुन’ मा मुकेश राई, प्रतीक चामलिङ, निर्मला राई ‘परिवेश’ र कुमार ‘बिबाहित’ का शब्दरचना तथा विक्रम राई, मन थुलुङ, पुजन ल्होगन, शिला बहादुर मोक्तान र कुमार ‘बिबाहित’ का सङ्गीतमा कहिलेकाहिँ बादलसँगै उडुं उडुं लाग्छ, वाचा बन्धन तोडी गयौ, कोही भन्छन् फूल मलाई कोही भन्छन् जून, हरेक साँझ तिम्रो यादमा, उडुं उडुं लाग्यो मलाई र आँखै नहेरी सासै नफेरी’ बोलका ६ वटा गीत रहेका छन् l ‘सगुन’ सुमिताको एकल स्वरको पहिलो एल्बम हो l
सानैदेखि गीत – सङ्गीतमा गहिरो अभिरुची भएपनि विविध कारणले औपचारिक रुपमा अगाडि आउन नसकेकी गायिका सुमिताले २०५७ सालमै प्रख्यात सङ्गीत प्रशिक्षक ओम प्रकाश राईसँग धरानमा सङ्गीत सिक्ने मौका पाएकी थिईन् l उनी विगत १५ वर्षदेखि यूके बस्दै आएकी छिन् l
सुमिता नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ नाम भएपनि उनको गलाको सौन्दर्य र मिठास यति शीतल र कर्णप्रिय छ, लाग्छ – उनी गाउनकै लागि जन्मिएकी थिईन् l नियमित रियाज नभएपनि, सङ्गीतका कतिपय शास्त्रीय सिद्धान्त सिक्न बाँकी नै रहेपनि उनको गायकीमा व्यावसायिक गायिकाको दक्षता महसुस गर्न सकिन्छ l यस एल्बमको अर्को विशेषता भनेको गीत सुन्दै जाँदा ६ मध्ये कुनैपनि गीत बीचमै छाडेर अर्को गीत सुन्न मन नै लाग्दैन l फरक भावका शब्द, फरक मेलोडी र मिठासले गर्दा हरेक गीतले स्रोतालाई अन्त्यसम्म बाँधिराख्छ l संयोग हो या सुमिताको क्षमता सरल तर गहिरा र मननीय गीतहरुको छनोट पनि यस एल्बमको अर्को बलियो पाटो हो l शब्द, सङ्गीत र गायनको सुन्दर तादात्म्य मिलेको यो एल्बम सङ्गीत पारखीहरुका लागि साँच्चिकै सुमिताको एउटा अविस्मरणीय उपहार अर्थात ‘सगुन’ नै हो भन्दा फरक नपर्ला l

एल्बम बिमोचन समारोहमा ट्रयाक नम्बर ४ मा रहेको गीत ‘हरेक साँझ तिम्रो यादमा’ को भिडियो समेत प्रदर्शन गरिएको थियो l गोविन्द राईको निर्देशनमा तयार भएको सो भिडियोमा सुमिता स्वयम् र खरुन राईले प्रमुख पात्रका रुपमा अभिनय गरेका छन् भने भिडियोमा राजेन तामाङ, आरुष के. सी. आदिलाई पनि देख्न सकिन्छ l गायनमा जस्तै अभिनयमा पनि सुमिताले आफ्नो अब्बल कला क्षमता प्रस्तुत गरेकी छिन् l सुमिता राई नामक युट्युब च्यानलमा अपलोड भएको यो भिडियोले यो समाचार लेखिरहँदा १४ हजार नजिक भ्युज पाईसकेको छ l नेपाली सङ्गीतको  ठूलो आकाशमा सानो तर चहकिलो झिल्मिले तारा झैं उदाएकी आशालाग्दी गायिका सुमिताले अझ केही मेहेनतका साथ गायन कर्मलाई निरन्तरता दिएमा नि:सन्देह उनको उपस्थिति परिवार र आफन्तहरुले समेत गर्व गर्न लायक बन्ने छ l

Video Link