नेपालभाषाको गीति एल्बम ‘न्हापांगु पला:’ सार्वजनिक, एकल शब्द, सङ्गीत र स्वरमा राजु

ऐतिहासिक शहर भक्तपुरको कमलविनायक निवासी राजु कर्माचार्यले भर्खरै मा एकल शव्द, सङ्गीत र स्वरको गीति एल्बम ‘न्हापांगु पला:’ अर्थात् ‘पहिलो पाईला’ सार्वजनिक गरेका छन् l काठमाण्डौको लैनचौरस्थित ग्रिन लिभ्स रेष्टुरेन्टमा कार्यक्रमको आयोजना गरी उनले आफ्नो पहिलो एल्बम औपचारिक रुपमै सार्वजनिक गरेका हुन् l अग्रज गायक – सङ्गीतकार प्रेमध्वज प्रधान, सङ्गीतकार राजु सिंह, गायक जुजुकाजी रञ्‍जित, सङ्गीत संयोजक तथा सङ्गीतकार जुगल डंगोल एवं सर्जक – कलाकार राजु कर्माचार्यका पिता चक्रवीर कर्माचार्यले सो एल्बम संयुक्त रुपमा लोकार्पण गरेका थिए l रविन दर्शनधारी, रोमन भैल, फिरोज बज्राचार्य र जुगल डंगोलको सङ्गीत संयोजन रहेको यस एल्बममा ‘त्व:ता वन छं, भ्यालेन्टाइन, हिसिदुगु ख्वा:, नु रे नु, स्वयम्भुई ध्यके, खुसिया किनारा र धेप मैं बोलका ७ वटा गीत रहेका छन् भने सबैजसो गीतका भिडियो बनिसकेका छन् l  समारोहमा राजुले विमोचित एल्बमबाट एकल स्वरका गीत ‘त्व:ता वन छं’ र  ‘खुसिया किनारा’ का साथै युगल स्वरको अर्को गीत ‘नु रे नु’ गायिका सरस्वती मानन्धरको साथमा प्रस्तुत गरेका थिए l कार्यक्रममा भक्तपुरको टिपिकल नेपालभाषाको अर्को गीत ‘धेप मैं’ को भिडियो पनि प्रदर्शन गरिएको थियो l राजन शाहीको निर्देशन, सोहन मानन्धरको छायाङ्कन तथा सम्पादन रहेको सो भिडियोमा अर्णेश्वरी शिल्पकार, श्यामसुन्दर शिल्पकार, विश्व मैल, राजु मानन्धर, शर्मिला कर्माचार्य, आशा कुमारी कव, हेल बहादुर मानन्धर, लक्ष्मी लामा, युनिक कर्माचार्य आदि कलाकारहरुको अभिनय रहेको छ l हईलाईट्स नेपाल नामक युट्युब च्यानलमा अपलोड भएको यो भिडियोले यो समाचार लेखिरहँदा १८ हजार भ्युज पाईसकेको छ l भक्तपुरको परम्परात्मक नेवारी संस्कृति समेटिएको यस गीतको भिडियोमा पुराना एवं कलात्मक घर, पुराना गल्लि, बहाल र चोकहरुलाई देखाईएको छ l भेषभूषामा समेत आफ्नो पन झल्काईएको छ l भिडियोलाई आधुनिक घर, फराकिला – चिल्ला बाटा र अन्य विकशित भौतिक संरचनाहरुबाट टाढै राखिएको छ l लगभग २ दशक अघि नै सङ्गीत क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेका गीतकार, सङ्गीतकार एवं गायक राजु कार्माचार्य कार्यगत व्यताताले गर्दा यो बिचमा थोरै सिर्जनाहरु मात्र सार्वजनिक भएको कुरा बताउँछन् l हाल पाटन अस्पतालमा वरिष्ठ ल्याव टेक्निसियनका रुपमा कार्यरत उनी आगामी दिनमा सङ्गीतकर्मलाई निरन्तरता दिने सोचमा छन् l ‘स्कूल पढ्दैदेखि सङ्गीतमा रुची थियो l ९ र १० मा अरु विषयसँगै सङ्गीत पनि पढें l हामीलाई वद्रि नारायण ताम्राकार सरले सङ्गीत सिकाउनुहुन्थ्यो l पछि मैले विभिन्न सङ्गीत इन्स्टिच्युटहरुमा पनि सङ्गीत सिकें l प्रोग्राममा त स्कूलदेखि नै गाउन थालेको थिएँ l यो बीचमा कन्सर्टहरुमा पनि धेरै गाएको छु l अहिले पनि घरमा नियमित रियाज गर्ने गरेको छु l २०५७ सालमै पहिलो गीत रेकर्ड गरेको भएपनि समय अवधिको हिसाबले थोरै नै भन्नुपर्छ नेपालभाषा र नेपाली गरी हालसम्म लगभग १ दर्जन गीत रेकर्ड भएका छन्’ शान्त स्वभाव र ईमान्दार छवि भएका सुरिलो स्वरका धनी राजुले आफ्नो बारेमा जानकारी गराए l गीटारलाई आफ्नो प्रिय बाजा मान्ने राजु गीत कम्पोज पनि गिटारमै गर्छन् l यतिबेला उनी नेपाली भाषामा एकल एल्बमको तयारी गरिरहेका छन् l ‘कम्पोजको काम भईरहेको छ, अब छिट्टै गीत रेकर्डिङ पनि सुरु हुन्छ’ उनले भने l

Video Link