हरिहर – शकुन्तला शर्मालाई ‘शिव पार्वती’ सम्मान, सीता महरालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड

फेसियल हाउसले तीज विशेष कार्यक्रमकाबीच अग्रज कलाकारद्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’ को रुपमा सम्मान गरेको छ । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित ‘फेसियल हाउस तीज महोत्सव २०७६’ कार्यक्रममा हरिहर र शकुन्तलालाई सो सम्मान प्रदान गरिएको हो । नेपाली वाङ्मयका बिभिन्न विधाका साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उहाँहरुले गरेको योगदानको कदर गर्दै तथा जीवनका हरेक पाईलामा अविचलित रहँदै एकअर्काको सारथि बनेर अगाडि बढिरहेको हरिहर-शकुन्तला जोडीलाई शिव पार्वती जोडीको संज्ञा दिँदै उक्त सम्मानबाट सम्मानित गरिएको कुरा फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् ।

कार्यक्रममा सभामुख कृष्ण बहादुर महराकी धर्मपत्नी सीता महरालाई समेत ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो । महिला सशक्तिकरण्का लागि लोकतान्त्रिक आन्दोलनमा समेत सामेल भएकी उनलाई सोही कार्यको कदर गर्दै अवार्ड प्रदान गरिएको बताईएको छ ।

सोही कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा आगामी भदौ १८,१९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामान सहित आर्थिक सहयोग समेत प्रदान गरियो । प्रवन्ध निर्देशक सुष्मा महराले चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष सन्दिप सापकोटालाई सहयोग रकम रु. २५,०००/-  (पच्चिस हजार) प्रदान गरेकी हुन् ।

उक्त कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुङ्गानाको अभिनय रहेको तीजगीत ‘तीज आयो’ को भिडियो समेत विमोचन गरिएको थियो । भिडियो विमोचन पश्चात गायिका निरौलाले आफ्नो प्रस्तुति राखेकी थिइन् ।

कार्यक्रममा फेसियल हाउसकै आयोजना रहेको ‘तीज फोटो कन्टेस्ट’ का बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । फोटो कन्टेस्टमा मनिषा ओझा प्रथम, रन्जु थापा द्वितीय र पूजा देवकोटा तृतीय भएका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।