‘नेपाल सङ्गीत उद्योग सङ्घ राष्ट्रिय म्युजिक अवार्ड’ मा FNCCI र NTV सह आयोजक हुने, अवार्डको मिति सर्यो l

सङ्गीत व्यवसायीहरुको एकमात्र छाता सङ्गठन ‘नेपाल सङ्गीत उद्योग सङ्घ’ ले आयोजना गर्न लागेको म्युजिक अवार्ड ‘नेपाल सङ्गीत उद्योग सङ्घ राष्ट्रिय म्युजिक अवार्ड’ मा ‘नेपाल उद्योग वाणिज्य महासङ्घ’ { FNCCI } र ‘नेपाल टेलिभिजन’ { NTV } ले सह आयोजकका रुपमा सहकार्य गर्ने भएका छन् l आइतबार सङ्घले अनामनगरस्थित कार्यालयमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराएको हो l ‘सङ्गीत तथा चलचित्र उत्पादक समाज’ र ‘नेपाल सङ्गीत उद्योग सङ्घ’ को बार्षिकोत्सव एकैदिन परेको हुँदा कार्यक्रममा केक काटेर समाजको पाँचौं र सङ्घको २७ औं वार्षिकोत्सव कार्यक्रम समेत मनाईएको थियो l कार्यक्रममा सङ्घका पूर्व अध्यक्षहरु रुपेश कुमार श्रेष्ठ र भगवान कुमार श्रेष्ठका साथै वर्तमान अध्यक्ष सूर्य बहादुर मगर, महासचिव खगेन्द्र कुमार लिम्बू, सचिव उमेश गुरुङ लगायत समाजका अध्यक्ष निर्मल राज ढकाल, सचिव सुनिल लामिछाने आदिको उपस्थिति रहेको थियो l

कार्यक्रममा दिईएको जानकारी अनुसार उद्योग वाणिज्य महासङ्घ र नेपाल टेलिभिजनसँग यसैसाता सम्झौता हुने छ l ‘अन्य भन्दा पृथक गर्नका लागि हामीले अवार्डका लागि लगभग १ दर्जन भाषाभाषी गीतको विधा समावेश गरेका छौं l उद्योग वाणिज्य महासङ्घ र नेपाल टेलिभिजन सह आयोजकका रुपमा आएपछि कार्यक्रम निक्कै भव्य र ऐतिहासिक रुपमा आयोजना हुने कुरा पनि निश्चित भएको छ l अवार्डलाई अझ व्यापक र विश्वसनीय बनाउनका लागि छिट्टै सङ्घका पूर्व अध्यक्षहरु र भाषाभाषी सङ्घ-संस्थाका अध्यक्षहरुसँग बसेर सल्लाहकार समिति गठन गरिने छ’ सङ्घ अध्यक्ष सूर्य मगरले भने l

प्राप्त जानकारी अनुसार भर्खरै थपिएको भजन विधा सहित समारोहमा ७९ विधामा अवार्ड प्रदान गरिने छ l आगामी असोजको पहिलो साता उत्कृष्ट ५ को नोमिनेशनमा पर्न सफल सर्जक, कलाकार र प्राविधिकहरुको नामावली सार्वजनिक गरिने छ भने मङ्सिर १३ गते कमलादीस्थित प्रज्ञा भवनको मेघा हलमा अवार्ड कार्यक्रम सम्पन्न हुने छ l अवार्ड कार्यक्रमको आयोजना हुनुभन्दा १ महिना अगाडिदेखि नेपाल टेलिभिजन राष्ट्रिय प्रसारणबाट नियमित प्रोमो बज्ने छ l यसैगरी अवार्ड कार्यक्रमको पूरै अवधि नेपाल टेलिभिजन राष्ट्रिय प्रसारणबाट प्रसारण हुने छ l

अवार्डका लागि फारम खुला रहेकोले ईच्छुक सर्जक – कलाकारहरुलाई समयमै फारम भर्न समेत सङ्घले आग्रह गरेको छ l