सातौँ ‘राष्ट्रिय रापती म्युजिक अवार्ड २०७५’ का उत्कृष्ट ५ लाई प्रमाणपत्र वितरण गरियो l

सातौँ ‘राष्ट्रिय रापती म्युजिक अवार्ड २०७५’ का उत्कृष्ट ५ मा पर्न सफल सर्जक, कलाकार र प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ l सभासद शान्ता चौधरीको प्रमुख आतिथ्य एवं आयोजक संस्था ‘रापती समाज, काठमाण्डौ’ का अध्यक्ष प्रवीन कुमार रेग्मीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो l कार्यक्रम भदौ ६ गते शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभा हलमा सम्पन्न भएको थियो l

समारोहमा प्रतिस्पर्धात्मक ४५ विधाका २ सय २५ सर्जक, कलाकार र प्राविधिकहरुले उत्कृष्टताको प्रमाणपत्र ग्रहण गरेका थिए l यसैगरी समारोहमा लोकप्रिय तवलावादक भूवन गन्धर्वलाई ‘रापती साँस्कृतिक सम्मान’ तथा गायिका ज्योति मगर र वीरेन्द्र वि. क. लाई ‘नारायण पाण्डे दोहोरी प्रतिभा पुरस्कार’ बाट सम्मान गरिएको थियो l ‘रापती समाज’ का महासचिव तथा कार्यक्रमका सञ्चालक रामु खड्काले दिएको जानकारी अनुसार अवार्डको फाइनल कार्यक्रम असोजको दोस्रो साता आयोजना हुने छ भने हल बुक हुनासाथ मिति सार्वजनिक गरिने छ l

प्राप्त जानकारी अनुसार अवार्ड समारोहमा गीत-सङ्गीत क्षेत्रका एकजना अग्रज साधकलाई नगद रु. १० हजार ५ सय ५५ सहित ताम्रपत्रको साथमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिने छ l प्रतिस्पर्धी ४५ विधा बाहेक ‘जुरी अवार्ड’, ‘पब्लिक च्वाईस अवार्ड’ र ‘एसएमएस च्वाईस अवार्ड’ बाट समेत सर्जक, कलाकार सम्मानित हुने छन् l  

सातबर्ष अघि रापती अञ्चलस्तरीय अवार्डको रुपमा स्थापित यो अवार्ड केहीबर्ष यता राष्ट्रियस्तरमा आयोजना हुँदै आईरहेको छ l