हारमोनीका डाक्टर विमल साह

    तुलसी गिरी ‘भावुक’

मान्छेले व्यावसायिक सफलता हासिल गर्न धेरै कुराको पछि दगुर्नु पर्दैन, एउटै विषयमा विशिष्टता हासिल गर्न सक्यो भने जीवनमा अवसरका प्रशस्तै ढोकाहरु खुल्छन् भन्ने एउटा ज्वलन्त उदाहरण हुन् – विमल साह l विमल हार्मोनीका मेकानिक हुन् l हार्मोनी लगायतका अन्य बाजाहरुको बिक्री र मर्मत समेत गर्दै आएका उनी यतिबेला विशेषत: हार्मोनी ट्युनरका रुपमा विख्यात छन् l काठमान्डौको सिनामंगल, ताराहल चोकस्थित ‘श्री पशुपतिनाथ हारमोनियम मर्मत तथा बिक्री केन्द्र’ का प्रोप्राइटर समेत रहेका विमल हरेकदिन हारमोनी मर्मत तथा ट्युनिङ मिलाउनका लागि काठमाण्डौको एउटा कुनाबाट अर्को कुना कुदिरहेका हुन्छन् l सजिलै बोकेर हिंड्न नसकिने बाजा भएकोले उनले होम सर्भिस दिने गरेका छन् l रेकर्डिङ स्टुडियो, सङ्गीत विद्यालय, मठ – मन्दिर, भजन मण्डली, निजी विद्यालय र घरघरमा गएर आफ्ना ग्राहकलाई सेवा दिनु उनको दैनिकी हो l रेडियो नेपाल लगायत नेपालमा आयोजना हुने मेघा रियालिटी शोहरुका साथै भारतबाट आउने कलाकारहरुका हारमोनियमको समेत ट्युनिङ गर्ने नेपालकै एकमात्र शिल्पी विमल नै हुन् l

विमलको जन्म सर्लाहीको ईश्वरपुरमा भएको हो l विगतमा १५ वर्षसम्म असनस्थित आफ्नै भिनाजुको हारमोनी पसलमा काम गरेका विमलले ट्युनिङ र मर्मत सम्बन्धी स्पेशल कोर्स भारतको कलकत्तामा गएर पूरा गरेका हुन् l ‘मैले उदितनारायण, दिपा नारायण, सोनु निगम, कुमार सानु नेपाल आउँदा हारमोनीको ट्युनिङ गरेको छु l प्रसिद्ध भोजपुरी गायक हिरो पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायत नेपालका प्रसिद्ध गायक – गायिकाहरु तथा सङ्गीतकार शम्भूजीत बासकोटा, दीप श्रेष्ठ, कुन्ति मोक्तान, टिका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देल लगायतलाई हारमोनी ट्युनिङ गरेर चित्त बुझाएको छु’ विमल भन्छन् l उनले सङ्गीत प्रशिक्षणका लागि नेपालमै सर्वाधिक ख्याति भएका चन्दन कुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डी प्रसाद काफ्ले लगायतका सङ्गीत गुरुहरुलाई नियमित सेवा दिईरहेका छन् l

उनको सेवा नेपालमा मात्र सीमित छैन l उनले ट्युनिङ गरेका हारमोनी अमेरिका, जापान, पाकिस्तान, हङकङ, भारत, दुबई, कतार, साउदी अरेबिया, बङ्गलादेश, अष्ट्रेलिया, भूटान, मलेशिया, सिङ्गापुर, चीन, कोरिया लगायतका देशमा समेत पुगेका छन् l ‘हारमोनी डेढ दुई बर्षमा मर्मत गरेपनि हुन्छ तर  ट्युनिङ भने अवस्था हेरेर गरिरहनु पर्छ l ‘ट्युनिङ भनेकै हारमोनीको सुर हो l खासगरी साधना गर्ने व्यक्ति, क्लासिकल शैलीका गजल, भजन र राग गाउनेहरुले हारमोनीको सुर ठीक छ कि छैन भन्ने कुरामा संधैं सचेत रहनु पर्दछ’ उनी भन्छन् l

यही पेशामा जीवन समर्पित गर्न चाहने र विदेशबाट जस्तोसुकै अवसर आएपनि आफ्नै देशमा रमाउने सोच भएका विमलको नेपालमै हारमोनी उत्पादन गर्ने सपना छ l ‘नेपाली म्युजिकमा पनि  भविष्य राम्रो हुँदै गएको छ l नेपाली कला र कलाकारको ख्याति अझ संसारभर बढेर जाओस्, जसका लागि मैले पनि केही योगदान गर्न सकौं, यही चाहना छ’ उनी भन्छन् l विमललाई उनको मोबाईल नम्बर ९८६३६८९५९६ वा ९८६९५२५७४० मा फोन गरेर भेट्न सकिन्छ l