भिन्न सोच भिन्न काम : भिडियो निर्देशक/ कोरियोग्राफर काजिश

तुलसी गिरी ‘भावुक’

अहिलेका ब्यस्त अनि लोकप्रिय  म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफरहरु मध्येका एक हुन् काजिश श्रेष्ठ । उनले अहिलेको साङ्गीतिक बजारमा आफ्नो नाम र कामलाई राम्ररी बिकाएका छन् । सङ्गीत क्षेत्रमा धेरै भिडियो निर्देशकहरु यस्ता पनि छन् जो कोरियोग्राफर भाडामा लिन्छन् l भिडियोमा सिर्जनशील काम भनेकै कोरियोग्राफी हो l तर भाडाका कोरियोग्राफरलाई काम लाएर निर्देशकमा आफ्नो नाम राख्नेहरुको पनि बजारमा राम्रै वर्चस्व छ l यो भीडमा काजिश अब्बल दर्जाका त्यस्ता थोरै निर्देशकहरु मध्येका हुन् जो आफैं कोरियोग्राफी र निर्देशन गर्छन् l दैनिकजसो शुटिङमा ब्यस्त रहने काजिश विगत ८ बर्षदेखि निरन्तर सङ्गीत क्षेत्रमा  क्रियाशील छन् l  उनले गरेका धेरै म्युजिक भिडियो दर्शकले रुचाएका छन् l ‘केही फरक गर्ने सोच सधैं मनमा आउँछ l तर आफूले सोचेजस्तो गर्न सबैकुरा मिल्नु पर्छ l चाहेर पनि कहिलेकाहिँ गर्न सकिन्न’ उनी भन्छन् l तथापि उनले गरेका भिडियोमा प्राय: केही फरक कुराहरु अनुभव गर्न सक्छौं हामी l ‘मेहनत गर्न छोड्नु हुन्न एकदिन अवश्य सफल भईन्छ’ उनी आत्मविश्वासका साथ भन्छन् l अहिलेको नेपाली सङ्गीत बजारका हरेक विधामा निकै प्रतिस्पर्धा छ l तरपनि उनले आफ्नो ठाउँ स्थापित गरिसकेका छन् सबैको रोजाईका भिडियो निर्देशकको रुपमा l

सानैबाट नाच्न रुचाउने भएपनि एसएलसी दिएपछि मात्र समयले त्यो अवसर जुराएको उनी बताउँछन् l ‘डान्स सिकेर हिरो बन्ने सपना थियो तर समयले मलाई निर्देशक / कोरियोग्राफर बनायो’ उनी हाँस्दै भन्छन् l ‘आज म जुन स्थानमा छु, त्यहाँसम्म आइपुग्न धेरै मेहेनत पनि गरेको छु l आजको यो सफलताले पहिलेका सङ्घर्षमय दिन र दु:ख  सबै बिर्साएको छ l खुशी लाग्छ, मेरो कामलाई सबैले रुचाईदिनुभएको छ l माया गरिदिनु भएको छ l यो भन्दा के चाहियो र ?’ उनी सन्तुष्टी व्यक्त गर्छन् l उनले निर्देशन र कोरियोग्राफी गरेका सुपरहिट भिडियो  ‘मान्छे फकाएर आफ्नो हुँदैन, सुपारीका दाना , पीडाको राजधानी, नौलाई शून्य नब्बे, रातो अबिर पहेंलो केशरी, मेरो बाबू, बैशाखी, तीजगीत कोरियन सारी, यही गीतको सिक्वेल कोरियन सारी २ शिरफुल, हिरो र त्यसैको सिक्वेलमा यो बर्ष आएको तीजगीत हिरो २ नक्कले, विष्णु माझीको पुतलीको भट्टी भाग- १५’  आदि बाट पनि उनको सिर्जनशीलताको मूल्याङ्कन गर्न सकिन्छ । सङ्गीत क्षेत्रमा ‘कन्सेप्चुएल’  निर्देशकको रुपमा समेत उनलाई चिन्ने गरिन्छ l

रौतहट, चपुर जन्मस्थान भएका सर्जक काजिशले आफ्नो विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड २०७५, दोश्रो ओएस नेपाल वेष्ट म्युजिक अवार्ड, चौथो सुन्दरादेवी म्युजिक अवार्ड जस्ता राष्ट्रिय अवार्डहरु समेत  प्राप्त गरिसकेका छन् भने भरखरै सम्पन्न नेशनल साधना म्युजिक अवार्डमा उनले लोकदोहोरीतर्फ म्युजिक भिडियो निर्देशकको अवार्ड प्राप्त गरेका छन् l